धनगढी- सुदूरपश्चिम प्रदेशमा एन्टी रेबिज भ्याक्सिन (एआरभी) को अभाव भएपछि कुकुर, बाँदर तथा अन्य जनावरको टोकाइबाट प्रभावित नागरिकहरू निजी फार्मेसीबाट खोप खरिद गर्न बाध्य भएका छन्। सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको जीवनरक्षक एआरभी खोप गत जेठ महिनाको पहिलो सातादेखि प्रदेशका अधिकांश सरकारी स्वास्थ्य संस्थामा सकिएको हो।



संघीय सरकारले गत माघ महिनादेखि प्रदेशका लागि नयाँ एआरभी खोप आपूर्ति नगरेपछि समस्या उत्पन्न भएको जनाइएको छ। प्रदेश सरकारले ६२ लाख रुपैयाँ बजेटबाट केही मात्रामा खोप खरिद गरी वितरण गरे पनि उक्त खोप जेठको पहिलो सातासम्म मात्र पर्याप्त भएको थियो। त्यसयता प्रदेशभरका अस्पताल, स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा खोपको मौज्दात सकिएको छ।


हाल जनावरले टोकेका बिरामीलाई निजी फार्मेसीबाट खोप खरिद गरेर ल्याउन सिफारिस गरिँदै आएको छ। बिरामीले आफैं खोप खरिद गरेपछि मात्रै स्वास्थ्य संस्थाले खोप लगाइदिने व्यवस्था गरिएको छ। यसले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई थप भार परेको छ।

सेती प्रादेशिक अस्पतालका डा. समिर खानले रेबिज अत्यन्तै प्राणघातक रोग भएकाले जनावरले टोकेपछि सकेसम्म छिटो एआरभी खोप लगाउनुपर्ने बताए। समयमै खोप नलगाउँदा रोगको जोखिम बढ्ने भएकाले खोप अभावले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ।
यता, सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा समेत करिब एक महिनादेखि एआरभी खोपको मौज्दात नरहेको जनाएको छ। केन्द्रका सूचना अधिकारी जयन्द्र बोगटीका अनुसार बजेट अभावका कारण स्थानीय तहलाई आफ्नै स्रोतबाट खोप व्यवस्थापन गर्न अनुरोध गरिएको छ।
सुदूरपश्चिममा सडक कुकुरको संख्या बढ्दै गएको तथा ग्रामीण क्षेत्रमा जनावरको टोकाइका घटना नियमित भइरहने भएकाले एआरभी खोपको माग उच्च रहेको छ। तर मागअनुसार खोप आपूर्ति हुन नसक्दा नागरिकले निःशुल्क पाउनुपर्ने सेवा निजी खर्चमा लिनुपरेको अवस्था बनेको छ।
स्वास्थ्यकर्मी तथा सरोकारवालाले संघीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गरी तत्काल खोप आपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। साथै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन पर्याप्त बजेट व्यवस्था, नियमित मौज्दात व्यवस्थापन तथा दिगो आपूर्ति प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका छन्।

