धनगढी- चालु आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा प्रदेशको कुल गार्हस्थ उत्पादनमा सात प्रतिशत योगदान रहने उल्लेख गरिएको छ।



आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीका अनुसार यस आर्थिक वर्षमा प्रदेशको प्रतिव्यक्ति आय एक हजार १५३ अमेरिकी डलर रहने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेशको कुल आन्तरिक आय एक अर्ब १० करोड ५५ लाख रुपैयाँ पुगेको छ।


आर्थिक सर्वेक्षणअनुसार सुदूरपश्चिम प्रदेशको उपभोक्ता मूल्य सूचकाङ्क गत आर्थिक वर्षको तुलनामा ३.३९ प्रतिशतले वृद्धि भई १०७.८४ पुगेको छ। ग्रामीण क्षेत्रको सूचकाङ्क १०८.०२ र सहरी क्षेत्रको सूचकाङ्क १०७.७७ पुगेको छ। प्रदेशको मूल्य सूचकाङ्क राष्ट्रिय औसतभन्दा ०.८८ अङ्कले बढी रहेको जनाइएको छ।
त्यसैगरी, चालु आर्थिक वर्षको चैत मसान्तसम्म प्रदेश सरकारको बजेट बचत नौ अर्ब ७८ करोड १० लाख रुपैयाँ रहने अनुमान गरिएको छ भने राजस्व बचत तीन अर्ब ४० करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहने प्रक्षेपण गरिएको छ। कुल गार्हस्थ उत्पादनको अनुपातमा बजेट सन्तुलन ०.८८ प्रतिशत धनात्मक र राजस्व सन्तुलन १.८४ प्रतिशत ऋणात्मक रहेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ।