भीमदत्त राजमार्ग विस्तारमा १५/१५ मिटर मात्रै कायम गर्न स्थानीयको माग

धनगढी- भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको चुहागाउँ क्षेत्रका स्थानीयवासीले सडक विस्तारका क्रममा सडकको दायाँ–बायाँ १५/१५ मिटर मात्रै क्षेत्र कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।

युवा नेता तथा व्यवसायी राम भाटलगायत स्थानीयवासीले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र पठाएका हुन्। ज्ञापनपत्रमा सडक विस्तारको निर्णयले कैलाली, डोटी र डडेल्धुराका बासिन्दाको दैनिक जनजीवन, बसोबास तथा व्यवसाय प्रभावित हुन सक्ने उल्लेख गरिएको छ।

Navadurga sun

स्थानीयवासीले हाल कायम रहेका बस्ती, घर, पसल तथा अन्य संरचनाहरू जोगाउने गरी सडकको दायाँ–बायाँ १५/१५ मिटर मात्रै विस्तार गर्नुपर्ने माग गरेका छन्। आवश्यकता भन्दा बढी क्षेत्र खाली गराउँदा हजारौँ नागरिक विस्थापित हुने तथा ठूलो आर्थिक र सामाजिक क्षति पुग्ने उनीहरूको भनाइ छ।

सडक स्तरोन्नति र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने पक्षमा आफूहरू रहेको जनाउँदै स्थानीयले जनताको हितलाई ध्यानमा राखी व्यावहारिक निर्णय गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, सम्बन्धित निकायले स्थानीयको भावना र आवश्यकता बुझेर सडक विस्तारको मापदण्ड पुनरावलोकन गरी १५/१५ मिटर मात्रै विस्तार गर्ने व्यवस्था मिलाउन माग गरिएको छ।

उक्त ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रेग्मीलाई बुझाइएको छ, जसलाई प्रधानमन्त्री कार्यालयमा पठाइने जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...