महिलाको टेम्पो भीरमा खसालिएको घटनाप्रति चौतर्फी विरोध, १२ वन कर्मचारीमाथि अनुसन्धान

अत्तरिया- कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एक महिलाको जीविकोपार्जनको आधार बनेको टेम्पो भीरमा खसालेको घटनाप्रति चौतर्फी विरोध भएको छ।

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो जेठ २९ गते वन कर्मचारीहरूले हटाउने क्रममा भीरमा खसालेका थिए। घटनाको भिडियो जेठ ३० गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा र आक्रोश फैलिएको हो।

Navadurga sun
Godawari sandesh

घटना सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशसभा सदस्य सन्तोषकुमारी शर्मा थापाले घटनास्थलको निरीक्षण गर्दै निष्पक्ष छानबिनको माग गरेकी छन्। उनले वन अतिक्रमण हटाउने कानुनी प्रक्रिया भए पनि एक विपन्न महिलाको जीविकोपार्जनको साधन नै नष्ट गर्नु अमानवीय र अशोभनीय भएको बताइन्।

Dadeldhura hospital

पीडित धनादेवी धामीले सोही टेम्पोमा चिया, अण्डा, चाउचाउ र पानीलगायतका सामग्री बिक्री गरेर १० जनाको परिवारको गुजारा चलाउँदै आएकी थिइन्। उनका तीन छोरा रोजगारीका लागि भारतमा छन् भने घरमा श्रीमान् र बुहारी रहेका छन्।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने वन अतिक्रमण हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि हटाउने क्रममा गाडी अनियन्त्रित भई भीरमा खसेको दाबी गरेका छन्। वन कार्यालयले जारी गरेको विज्ञप्तिमा टेम्पो जीर्ण अवस्थामा रहेको, चक्का र इन्जिन बिग्रिएको तथा भौगोलिक असन्तुलनका कारण दुर्घटना भएको उल्लेख गरिएको छ। तर स्थानीय जीवराज धामीले वन कार्यालयको उक्त दाबी अस्वीकार गर्दै टेम्पो सञ्चालनकै अवस्थामा रहेको बताएका छन्।

घटनाको चौतर्फी आलोचनापछि जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। घटनामा संलग्न रहेको आशङ्कामा वन कार्यालयका १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको छ।

कैलाली प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले भिडियो, प्रत्यक्षदर्शीको भनाइ र सम्बन्धित पक्षको बयानका आधारमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुनी प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्। डिभिजन वन प्रमुख ठाकुरसँग पनि वन मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले सोधपुछ गरिरहेको जनाएको छ।

Loading...