गोदावरी नदीमा आकस्मिक बाढी : च्याउ खोज्न गएका दुई महिलाको मृत्यु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–३ स्थित गोदावरी नदीमा शुक्रबार बिहान एक्कासी आएको बाढीले बगाउँदा दुई महिलाको दुःखद निधन भएको छ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–४ निवासी ५५ वर्षीया महेश्वरी धमला र ४० वर्षीया कल्पना साउँद रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धमलाको शव गोदावरी नदीस्थित आर्यघाट नजिक तथा साउँदको शव वनदेवी मन्दिर आसपासको क्षेत्रमा फेला परेको हो। दुवै महिला च्याउ खोज्न जंगल गएका बेला नदीमा आएको आकस्मिक बाढीमा परेका थिए।

Navadurga sun

प्रहरीका अनुसार शुक्रबार बिहान करिब पौने ७ बजेतिर गोदावरीस्थित शिव मन्दिरका पुजारी शक्रानन्द गिरीले नदीमा अचानक आएको बाढीले दुई महिलालाई बगाएको जानकारी दिएका थिए। सूचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट गोदावरी र इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।

प्रहरी र स्थानीयवासीको संयुक्त खोज तथा उद्धार अभियानपछि दुवै महिलाको शव नदी किनारका फरक–फरक स्थानबाट फेला परेको जनाइएको छ। घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ भने मृतकका परिवारजन शोकमा डुबेका छन्।

वर्षायाम सुरु भएसँगै सुदूरपश्चिमका नदी तथा खोलामा जलस्तर तीव्र रूपमा बढ्न थालेको छ। पहाडी क्षेत्रमा परेको वर्षापछि नदीहरूमा आकस्मिक बाढी आउने जोखिम बढेकाले सम्बन्धित निकायले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। प्रशासनले नदी तथा खोलानालाको आसपास जाने, वन क्षेत्रमा घुम्ने तथा च्याउ संकलन गर्न जाने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...