गेटा आँखा अस्पतालको बेथितिविरुद्ध आन्दोलन चर्कियो, सिटी बजाएर विरोध प्रदर्शन

अत्तरिया- कैलालीस्थित गेटा आँखा अस्पतालमा देखिएको भनिएको बेथिति, मनोमानी कार्यशैली र व्यवस्थापकीय कमजोरीको विरोधमा स्थानीयवासी तथा सङ्घर्ष समितिले आन्दोलनलाई थप सशक्त बनाएका छन्। आन्दोलनको निरन्तरता स्वरूप बुधबार अस्पतालको मूल गेट अगाडि सिटी बजाएर प्रतीकात्मक विरोध प्रदर्शन गरिएको हो।

गेटा आँखा अस्पतालको बेथितिविरुद्ध गठन गरिएको सङ्घर्ष समितिले जेठ १९ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। आन्दोलनरत पक्षले अस्पताल प्रशासन, व्यवस्थापन समिति तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सेवा सुधार, पारदर्शिता र स्थानीय सहभागिता सुनिश्चित गर्न माग अघि सारेका छन्।

Navadurga sun

सङ्घर्ष समितिका संयोजक गणेशराज विष्टले अस्पताल प्रशासन र कर्मचारीबीचको विवाद तथा व्यवस्थापनको कमजोरीका कारण आन्दोलनको अवस्था सिर्जना भएको दाबी गर्दै समस्याको दीर्घकालीन समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। आन्दोलनकारीहरूले अस्पतालको सेवा बन्द गराउने नभई प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने उद्देश्यले दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन्।

स्थानीयवासीले अस्पताल व्यवस्थापनमा समुदायको उचित प्रतिनिधित्व, नेत्र ज्योति सङ्घको आजीवन सदस्यतामा स्थानीय सहभागिता तथा निर्णय प्रक्रियामा स्थानीय आवश्यकतालाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्। यसअघि मंगलबार शंख फुकेर विरोध प्रदर्शन गरेका आन्दोलनकारीहरूले माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...