प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास अस्वीकार्य : पत्रकारहरू

धनगढी- निजी सञ्चारमाध्यममाथि अंकुश लगाउने उद्देश्यले सरकारले गरेको निर्णय प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रहार भएको भन्दै पत्रकारहरूले बुधबार कैलालीमा धर्ना दिएका छन्।

नेपाल पत्रकार महासंघ को केन्द्रीय कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित धर्नामा पत्रकारहरूले स्वतन्त्र पत्रकारिता, नागरिकको सूचनाको अधिकार तथा प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका थिए। सहभागीहरूले “निजी सञ्चारमाध्यममाथिको विभेदकारी निर्णय तुरुन्त खारेज गर”, “प्रेस स्वतन्त्रता हाम्रो अधिकार” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

Navadurga sun

कार्यक्रमलाई सम्बोधन गर्दै भरत शाह ले पत्रकारितामाथिको सरकारी हस्तक्षेप स्वीकार्य नहुने बताए। त्यस्तै योगेन्द्र बलायर ले प्रेस स्वतन्त्रताको संरक्षणका लागि महासंघ देशव्यापी रूपमा सक्रिय रहेको उल्लेख गरे। श्रवण देउवा ले सरकार मिडिया मैत्री नरहेको आरोप लगाउँदै विभेदकारी निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

महासंघका अनुसार केन्द्रको परिपत्रअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा एकैसाथ धर्ना कार्यक्रम आयोजना गरिएको हो। पत्रकारहरूले लोकतन्त्रको आधारस्तम्भ प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारसँग माग गरेका छन्। महासंघ कैलालीका सचिव तेज भट्ट का अनुसार आगामी जेठ २९ गते थप धर्ना कार्यक्रम आयोजना गरिनेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...