गोदावरी नगरपालिकाद्वारा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित

अत्तरिया- गोदावरी नगरपालिकाले जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मान गरेको छ। प्रदेशस्तरीय डडेल्धुरा तथा केन्द्रस्तरीय काठमाडौंमा सहभागी भई पदक हासिल गर्ने खेलाडीहरूलाई समेत नगरपालिकाले विशेष सम्मान प्रदान गरेको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जेठ १ गतेदेखि बर्दगोरिया गाउँपालिकामा सम्पन्न १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने गोदावरी नगरपालिकाका खेलाडीहरूलाई अबिर, मेडल र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। सम्मान कार्यक्रम नगर प्रमुख बिरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी, युवा तथा खेलकुद शाखा अधिकृत विष्णुराज अवस्थी, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधि तथा खेलकुद प्रशिक्षकहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतियोगितामा धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, १४ रजत र ८ कास्यसहित कुल ५२ पदक जित्दै उपाधि हात पारेको थियो। घोडाघोडी नगरपालिकाले १९ स्वर्णसहित ४७ पदकका साथ दोस्रो स्थान हासिल गर्दा गोदावरी नगरपालिकाले ७ स्वर्ण, २४ रजत र १६ कास्यसहित कुल ४७ पदक जित्दै तेस्रो स्थान प्राप्त गरेको थियो।

समापन समारोहमा गोदावरी नगरपालिकाले आगामी १७औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी ग्रहण गरेको छ। नगरपालिकाले प्रतियोगितालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्ट ले खेलमा हारजितभन्दा अनुशासन, लगनशीलता र प्रतिभा विकास महत्वपूर्ण हुने उल्लेख गर्दै उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण खेलाडीलाई बधाई दिएका छन्। साथै, आगामी वर्ष गोदावरी नगरपालिकामै आयोजना हुने १७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सफल आयोजनाका लागि अहिलेबाटै तयारीमा जुट्न सबैलाई आग्रह गरेका छन्।

Loading...