गेटा आँखा अस्पताल संघर्ष समितिको आन्दोलन दोस्रो दिन पनि जारी, कालोपट्टी बाँधेर विरोध प्रदर्शन

अत्तरिया- कैलालीस्थित गेटा आँखा अस्पतालमा विभिन्न माग राख्दै सुरु गरिएको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। संघर्ष समितिले सोमबार अस्पतालको मूल गेट अगाडि टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेको हो।

गणेश विष्टको संयोजकत्वमा रहेको संघर्ष समितिले अस्पतालभित्रको राजनीति बन्द गर्न, कर्मचारीमाथिको दमन अन्त्य गर्न, स्वास्थ्यकर्मीको सेवा–सुविधा तथा बढुवा सुनिश्चित गर्न माग गरेको छ। साथै, दीर्घबहादुर चन्द, गोविन्द जोशी, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीलाई बर्खास्त गर्नुपर्ने माग पनि अघि सारेको छ।

Navadurga sun

समितिले अस्पतालको व्यवस्थापन समितिमा अध्यक्षसहित ५० प्रतिशत स्थानीय सहभागिता सुनिश्चित गर्न, चिकित्सक तथा आवश्यक कर्मचारीको तत्काल पदपूर्ति गर्न, हालका व्यवस्थापन समिति सदस्यहरूले राजीनामा दिन तथा कर्मचारीद्वारा हुने गैरकानुनी ठेक्का प्रथा अन्त्य गर्नुपर्ने माग राखेको छ।

त्यस्तै, शुद्ध खानेपानी र पर्याप्त शौचालयको व्यवस्था गर्न, बिरामीप्रतिको रुखो व्यवहार रोक्न तथा अस्पतालको आय–व्यय सार्वजनिक गर्नुपर्ने माग पनि समितिले गरेको छ।

मागहरू तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने संघर्ष समितिका संयोजक गणेश विष्टले चेतावनी दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...