

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका क्षेत्रभित्र बग्ने नदी तथा खोलाहरूबाट नदीजन्य पदार्थ उत्खनन, संकलन, भण्डारण र बिक्री वितरणमा पूर्ण रोक लगाइएको छ । नगर कार्यपालिकाको कार्यालय, अत्तरियाले एक सार्वजनिक सूचना जारी गर्दै यससम्बन्धी जानकारी दिएको हो ।


नेपाल सरकारको प्रचलित कानुन बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म (तीन महिना) नदीजन्य पदार्थको कारोबार बन्द रहने व्यवस्था छ । सोही कानुनी व्यवस्था अनुसार यस वर्ष पनि आगामी असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि नगरपालिका क्षेत्रभित्रका नदी-खोलाहरूबाट ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल लगायतका सामग्री उत्खनन र संकलन गर्न निषेध गरिएको छ ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीद्वारा जारी सूचनामा भनिएको छ, “कानुन विपरीत नदीजन्य पदार्थहरूको उत्खनन, संकलन एवं भण्डारण गरे/गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ ।”
वर्षायाममा प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र सम्भावित बाढी-पहिरो जस्ता वातावरणीय जोखिम न्यूनीकरण गर्न सरकारले हरेक वर्ष यो नियम लागू गर्दै आएको छ । नगरपालिकाले सम्बन्धित सम्पूर्ण व्यवसायी, उपभोक्ता तथा सरोकारवालाहरूलाई यो नियमको पूर्ण पालना गर्न र नदीजन्य पदार्थको अवैध उत्खनन नगर्न/नगराउन सचेत गराएको छ ।
