८० प्रतिशत संरचना हटे, बाँकीमा जुनसुकै बेला डोजर चल्ने

अत्तरिया- सडक डिभिजन कार्यालय महेन्द्रनगरले गड्डाचौकी–अत्तरिया–चिसापानी खण्डअन्तर्गत पर्ने महेन्द्र राजमार्ग क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउने प्रक्रिया तीव्र बनाएको छ। तोकिएको १५ दिने समयसीमा जेठ १४ गते सकिएपछि बाँकी संरचनाको विस्तृत पहिचान तथा सूचीकरण कार्य अघि बढाइएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख राजेश यादवका अनुसार राजमार्गको २५ मिटर दायाँ–बायाँ क्षेत्रमा बनेका संरचना हटाउन यसअघि सूचना जारी गरिएको थियो। सो सूचनापछि अधिकांश संरचना हटिसकेका छन् भने करिब ८० प्रतिशत क्षेत्र खाली भइसकेको दाबी गरिएको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनका अनुसार बाँकी रहेका संरचनाहरू हटाउन अब थप पूर्वसूचना आवश्यक नपर्ने भएकाले आवश्यक परे जुनसुकै समयमा डोजर प्रयोग गरी हटाउने तयारी गरिएको छ।

गत वैशाख ३० गते जारी सूचनामार्फत सडक डिभिजन कार्यालयले १५ दिनभित्र अनधिकृत संरचना हटाउन निर्देशन दिएको थियो। समयसीमाभित्र संरचना नहटाइएमा कार्यालयले आफैँ हटाउने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट असुल गर्ने चेतावनी समेत दिएको थियो।

सडक क्षेत्रमा परेका शौचालय, प्रतिक्षालयलगायत सार्वजनिक संरचनाको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गरिने जनाइएको छ। हाल सीमांकनको काम जारी रहेकाले तत्काल सडक विस्तारको काम भने सुरु नहुने स्पष्ट गरिएको छ।

सडक डिभिजन कार्यालयले महेन्द्र राजमार्गलाई व्यवस्थित, सुरक्षित र अवरोधमुक्त बनाउने उद्देश्यसहित अभियानलाई निरन्तरता दिने जनाएको छ।

Loading...