सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजना मस्यौदा पारित

कैलाली- सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको छ। शनिबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको बैठकले उक्त मस्यौदा स्वीकृत गरेको हो।

प्रदेश नीति तथा योजना आयोगद्वारा तयार गरिएको यो योजना आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म कार्यान्वयन हुनेछ। अब यो मस्यौदा प्रदेश मन्त्रिपरिषद्मा पेश गरिनेछ।

Navadurga sun

योजना निर्माणका क्रममा पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, नेपालको सोह्रौँ योजना, संविधान तथा ऐन–नियम, आर्थिक सर्वेक्षण र सरोकारवालासँगको छलफलबाट प्राप्त सुझावलाई आधार बनाइएको आयोगका सदस्य नृपबहादुर सुनारले जानकारी दिए।

योजनाले “समुन्नत सुन्दर सुदूरपश्चिम” लाई दीर्घकालीन सोचका रूपमा अघि सारेको छ। यसअन्तर्गत उत्पादन र उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य सुधार, वातावरण संरक्षण र सुशासन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।

कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई मुख्य आधार बनाउँदै आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ। त्यस्तै यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधार विस्तारलाई पनि विशेष जोड दिइएको छ।

जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण तथा विपद् जोखिम न्यूनीकरणलाई समेत योजनामा उच्च प्राथमिकतामा राखिएको छ।

प्रदेश सरकारका अनुसार यो योजना दिगो विकास, डिजिटल रूपान्तरण र समावेशी आर्थिक विकासतर्फ प्रदेशलाई अघि बढाउने महत्वपूर्ण मार्गदर्शक दस्तावेज हुने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...