राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सव सुदूरपश्चिममा सम्पन्न

धनगढी- “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार दिगो शान्ति र समृद्धिको आधार” भन्ने मूल नारासहित राष्ट्रिय मानव अधिकार आयोगको २६औँ वार्षिकोत्सव सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा विभिन्न कार्यक्रम गरी मनाइएको छ।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख मानबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी ओम राना, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, विभिन्न सुरक्षा निकाय, मानव अधिकारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Navadurga sun

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्कीले मानव अधिकारको संरक्षण, प्रवर्द्धन र सम्मान बिना लोकतन्त्र सुदृढ हुन नसक्ने बताए। उनले नागरिकको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको अधिकार सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गरे।

उनले मानव अधिकार संरक्षणका लागि राज्यका सबै निकायबीच सहकार्य आवश्यक रहेको बताउँदै नागरिकमा अधिकारसम्बन्धी चेतना अभिवृद्धि गर्न आयोग निरन्तर सक्रिय रहेको जानकारी दिए।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मानव अधिकारको सम्मान र कानुनी शासनको प्रभावकारी कार्यान्वयनबाट मात्रै समाजमा शान्ति, सुशासन र विकास सम्भव हुने बताए। उनले अधिकारसँगै नागरिकको कर्तव्य पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले मानव अधिकारमैत्री सेवा प्रवाह, संस्थागत समन्वय र नागरिक सचेतना अभिवृद्धिको आवश्यकता औँल्याए। साथै मानव अधिकार सुनिश्चितताबाट मात्रै दिगो शान्ति, सामाजिक न्याय र समृद्धिको आधार तयार हुने निष्कर्ष निकालिएको थियो।

कार्यक्रममा मानव अधिकारको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे छलफल गर्दै समावेशी, न्यायपूर्ण र मानव अधिकारमैत्री समाज निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गरिएको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...