

अत्तरिया- गोदावरी नगरपालिका–१ नं. वडा कार्यालय ले “श्रमको सम्मान, राष्ट्रको अभियान” भन्ने मूल नारासहित वडाभित्र रहेका युवा क्लब तथा सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण गरेको छ ।



कार्यक्रमअन्तर्गत नगरपालिकाका नगर प्रवक्ता तथा वडा अध्यक्ष गोपाल दत्त भट्ट ले १० वटा युवा क्लब र ३ वटा सामुदायिक विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरेका हुन् ।


वडा कार्यालयका अनुसार वितरण गरिएका सामग्रीमा प्रत्येक समूहलाई एक थान भलिबल, एक थान फुटबल, भलिबल नेट तथा हावा भर्ने पम्प प्रदान गरिएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष भट्टले खेलकुद युवाको क्षमता विकास, अनुशासन तथा सामाजिक सहभागिता अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएकाले वडाले खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेको बताए । उनले आगामी दिनमा पनि खेल क्षेत्रको विकास र युवालाई सकारात्मक गतिविधिमा जोड्ने अभियानलाई निरन्तरता दिइने उल्लेख गरे ।