शुक्लाफाँटा नगरपालिका–१० मा मुक्त कमैया तथा कमलरीका लागि सुरक्षित आवास निर्माण सुरु

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१० झलारीमा मुक्त कमैया तथा मुक्त कमलरी परिवारका लागि सुरक्षित आवास निर्माण कार्य सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र नगरपालिकाको लागत साझेदारीमा १५ परिवारका लागि घर निर्माण प्रक्रिया अघि बढाइएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यक्रमअन्तर्गत उपभोक्ता समितिमार्फत निर्माण कार्य अगाडि बढाइएको छ। यसका लागि मन्त्रालय, नगरपालिका तथा गैरसरकारी संस्थाबीच सहमति भई काम सुरु गरिएको हो। मन्त्रालयले सुरक्षित आवास निर्माणका लागि रु ५२ लाख ५० हजार बजेट उपलब्ध गराउनेछ भने प्रति आवास रु ३ लाख ५० हजारका दरले रकम प्रदान गरिनेछ।

Navadurga sun

त्यसैगरी, वडाले चालु आर्थिक वर्षमा रु २१ लाख ७५ हजार लागत साझेदारी गरेको छ। प्रति घर रु १ लाख ४५ हजारका दरले सहयोग उपलब्ध गराइनेछ। निर्माण हुने प्रत्येक घरमा दुई सुत्ने कोठा, एक भान्सा, एक शौचालय तथा स्नानकक्ष रहनेछन्।

हालसम्म सुरक्षित आवास नहुँदा यी परिवारहरू कच्ची झुपडीमा असुरक्षित रूपमा बस्दै आएका थिए। नयाँ घर निर्माणसँगै सर्प, बिच्छीको डर, आगलागीको जोखिम तथा वर्षामा छाना चुहिने समस्या समाधान हुने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत लाभग्राहीले कुल लागतको कम्तीमा १० प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ। निर्माण सम्पन्न भएपछि घरहरू मन्त्रालयको समन्वयमा लाभग्राहीलाई हस्तान्तरण गरिनेछ।

यसअघि पनि सोही वडामा गैरसरकारी संस्थासँगको सहकार्यमा ११ सुरक्षित आवास निर्माण गरी दलित समुदायलाई हस्तान्तरण गरिएको थियो। यो कार्यक्रमले मुक्त कमैया तथा कमलरी समुदायको दीर्घकालीन आवास समस्या समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...