दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको २०औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको अत्तरियास्थित श्री दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको २०औँ वार्षिकोत्सव समापन कार्यक्रम १८ गते क्याम्पस प्राङ्गणमै भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम क्याम्पस प्रमुख डा. नरेन्द्रबहादुर ऐरको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाशबहादुर बमको उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिहरूका रूपमा सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. पदमराज जोशी, शिक्षाशास्त्र संकायका डिन भवान सिंह चलाउने, अनुसन्धान निर्देशक तथा केन्द्र प्रमुख डा. दमनबहादुर चलाउने, योजना प्रमुख प्रा. सुरेश सिंह भण्डारी तथा कार्यकारी परिषद् सदस्य हरिकृष्ण कणायत लगायतको उपस्थिति रहेको थियो।

godawari10 Mahila hinsa
Navadurga sun

प्रमुख अतिथि प्रकाशबहादुर बमले आफू अर्थ राज्यमन्त्री भएकाले क्याम्पसको विकासका लागि आवश्यक बजेट तथा सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे। उनले क्याम्पसले कार्यक्रम आयोजना गरी निमन्त्रणा गरेकोमा धन्यवाद पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै वक्ताहरूले शिक्षालाई प्रविधिमैत्री बनाउनुपर्ने, कम्प्युटर तथा अनलाइन कक्षाको व्यवस्था गर्नुपर्ने र विद्यार्थीलाई रोजगारीसँग जोड्ने शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले केवल जेहेन्दार विद्यार्थी मात्र नभई सबै विद्यार्थीलाई अवसर प्रदान गर्नुपर्ने धारणा राख्दै बेरोजगारी घटाउने शिक्षा आवश्यक रहेको बताएका थिए।

Dadeldhura hospital

युवा नेता लोकराज पाण्डेय आगोले क्याम्पसलाई स्तरोन्नति र लारजेस्ट बनाउन कम्तीमा ३० बिघा जग्गा आवश्यक पर्ने र यसका लागि सबै पक्षको सहयोग जरुरी रहेको बताए।

कार्यक्रमको समापन मन्तव्य दिँदै क्याम्पस प्रमुख डा. नरेन्द्रबहादुर ऐरले वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गर्न पाउँदा खुसी लागेको बताए। उनले शिक्षा बहुमुखी हुनुपर्ने उल्लेख गर्दै खेलकुद, नृत्य, साहित्य लगायतका क्षेत्रमा उत्कृष्टता देखाउने विद्यार्थीलाई प्रोत्साहन गरिएको जानकारी दिए।

उनले अभिभावकहरूलाई आफ्ना छोराछोरीको शिक्षाका लागि यस क्याम्पस रोज्न आग्रह गर्दै क्याम्पसले छोटो अवधिमै शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। साथै, विद्यार्थी र अभिभावकबाट सुझाव तथा सल्लाह लिन पनि क्याम्पस सधैं तयार रहेको उल्लेख गरे।

कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक प्रमुख लोकबहादुर महराले गरेका थिए भने स्वागत मन्तव्य मानविकी संकाय प्रमुख डा. विष्णुबहादुर कठायतले प्रस्तुत गरेका थिए।

हाल क्याम्पसमा २०१२ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ३५ जना शिक्षक र ११ जना अन्य कर्मचारी गरी जम्मा ४६ जना कार्यरत रहेका छन्।

Loading...