लक्ष्मी भट्ट/अत्तरिया- दुर्गालक्ष्मी बहुमुखी क्याम्पस हुँदै बुद्ध मन्दिर जाने सडक अहिलेसम्म कालोपत्रे नहुँदा विद्यार्थी तथा स्थानीय बासिन्दाले सास्ती खेप्नुपरेको छ । बर्सातको समयमा सडक हिलाम्मे र गर्मीमा धुलाम्मे हुने भएकाले आवतजावतमा समस्या हुने गरेको छ ।


यस सडकबाट क्याम्पसका करिब १७०० विद्यार्थी र ४० भन्दा बढी शैक्षिक कर्मचारी आवतजावत गर्छन् । साथै बास्कोटा गाउँका अधिकांश स्थानीयले पनि यही बाटो प्रयोग गर्ने गरेका छन् । यति धेरै सर्वसाधारणले प्रयोग गर्ने सडक भए पनि प्रदेश सरकार, संघीय सरकार तथा स्थानीय सरकारले सडक कालोपत्रे गर्ने पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।



सडकको केही भागमा पहिले कालोपत्रे गरिएको भए पनि अहिले खाल्डाखुल्डी परेर बिग्रिएको छ । सम्बन्धित निकायहरूले यस सडकलाई प्राथमिकतामा राखी छिटो कालोपत्रे गर्नुपर्ने माग स्थानीय र विद्यार्थीहरूको रहेको छ ।
निर्वाचनका बेला केही जनप्रतिनिधिहरूले सडक कालोपत्रे गर्ने आश्वासन दिएका भए पनि काम अघि बढ्न सकेको छैन । हालको निर्वाचनमा कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका खेमराज कोइरालाले आफ्नो वाचापत्रमा उक्त सडक कालोपत्रे गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैले स्थानीयमा अब सडक बन्ने आशा पलाएको छ ।
यसअघि सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको कार्यकालमा पनि उक्त सडक कालोपत्रे गर्ने काम सम्पन्न हुन सकेको थिएन । अहिले सरोकारवाला निकाय तथा कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका कोइरालाले यस सडकलाई प्राथमिकतामा राखेर काम अघि बढाउनुपर्ने माग स्थानीय र विद्यार्थीहरूले गरेका छन् ।