

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयले ३७औँ वार्षिक उत्सव कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रम विद्यालयका प्रिन्सिपल यम प्रसाद भण्डारीको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षामन्त्री तथा राष्ट्रिय सभा सदस्य लीला कुमारी भण्डारी रहनु भएको थियो। विशिष्ट अतिथिहरूमा प्याप्सन कैलालीका वरिष्ठ उपाध्यक्ष तथा ग्यालेक्सी स्कुलका संस्थापक प्रिन्सिपल छत्रराज पण्डित, र ज्ञान ज्योति माविका संस्थापक प्रिन्सिपल जगबिर थापा उपस्थित थिए।


कार्यक्रमको सञ्चालन शिक्षक द्वय नवीन भट्ट र जगदीश कोटारीले गरेका थिए भने स्वागत मन्तव्य मावि संयोजक शिक्षक डमरु राज भट्ट र विद्यार्थीका तर्फबाट कक्षा १० की मेनुका भट्टले प्रस्तुत गरेका थिए ।


विद्यालयमा हाल करिब ११०० विद्यार्थी, ४३ शिक्षक र १० कर्मचारी कार्यरत छन् । प्रिन्सिपलको अनुशासन, सक्रियता र योग्य नेतृत्वका कारण विद्यालयले निरन्तर प्रगति गरिरहेको जानकारी दिइयो। नियमित शैक्षिक भ्रमण, कम्प्युटर तथा साइन्स ल्याब, आधुनिक प्रविधि, अतिरिक्त क्रियाकलाप र योग्य विद्यार्थी, अभिभावक तथा शिक्षकलाई पुरस्कार वितरणमार्फत हौसला प्रदान गरिँदै आएको छ। कमजोर विद्यार्थीलाई विशेष निगरानीमा राखेर अतिरिक्त सहयोग दिइने व्यवस्था रहेको पनि बताइएको छ।


उत्कृष्ट विद्यार्थीहरूलाई अनुशासन, नियमितता र शैक्षिक उपलब्धिको आधारमा मूल्याङ्कन गरी पुरस्कार वितरण गरिएको थियो। उत्कृष्ट शिक्षकलाई रु. १०,००० नगद पुरस्कार र ए प्लस उपलब्धि हासिल गराउने शिक्षकलाई थप रु. १,००० गरि जम्मा २८ हजार का दरले ४ जनाले प्रोत्साहन रकम प्रदान गरिएको छ । विद्यार्थी तर्फ ३.६१ जीपीए वा सो भन्दा बढी ल्याउने २९ जनालाई रु. १०,००० र रु. ८,००० का दरले क्यास पुरस्कार प्रदान गरियो ।

प्रमुख अतिथि भण्डारीले विद्यालयले अध्ययन क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको भन्दै लगनशीलता निरन्तर बढाउन आग्रह गरिन् । शिक्षकलाई राष्ट्र निर्माणका जिम्मेवार व्यक्तित्वका रूपमा चित्रण गर्दै उनले शिक्षाले शान्ति र सामाजिक समायोजनमा महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

कार्यक्रमको समापन गर्दै प्रिन्सिपल यम प्रसाद भण्डारीले विद्यालयको उन्नतिका लागि आफू निरन्तर लागिपरेको र अभिभावकको माया तथा सुझावले विद्यालय थप मजबुत बन्ने विश्वास व्यक्त गरे। प्रविधियुक्त युगअनुसार विद्यालयको प्रविधि विस्तारमा कुनै कसर नराख्ने र आगामी दिनमा नयाँ विद्यार्थी भर्ना बढ्ने सम्भावना रहेको उल्लेख गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।