सुशासन र भ्रष्टाचार नियन्त्रणमा साझा प्रतिबद्धता आवश्यक : प्रदेश प्रमुख मिया

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका लागि सबै पक्षको साझा प्रतिबद्धता, समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस २०८२ का अवसरमा कञ्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापनामा आयोगले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

Navadurga sun
Godawari sandesh

प्रदेश प्रमुख मियाले संविधानले दीगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य निर्धारण गरेको उल्लेख गर्दै ती लक्ष्य प्राप्तिका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य रहेको धारणा व्यक्त गरे । वार्षिक तथा अन्तर्राष्ट्रिय प्रतिवेदनले सार्वजनिक क्षेत्रमा भ्रष्टाचार बढ्दो देखाएको उल्लेख गर्दै उनले यसका कारण संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताए । सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, पारदर्शी, भ्रष्टाचारमुक्त र जनउत्तरदायी बनाउँदै सेवा सुविधामा जनताको समान तथा सहज पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको उनले स्पष्ट पारे ।

Dadeldhura hospital

कार्यक्रममा अख्तियार कञ्चनपुर कार्यालयका प्रमुख वेदप्रसाद भण्डारीले सुदूरपश्चिम प्रदेशमा पछिल्लो १२ वर्षमा ११ हजार ९५२ भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता भएको जानकारी दिए । तीमध्ये ११ हजार ४०९ उजुरी फस्र्योट भइसकेका छन् भने ५४३ उजुरी बाँकी रहेका छन् ।

उनका अनुसार चालू आर्थिक वर्षको २६ माघसम्म सबैभन्दा बढी कैलालीबाट २९२ र सबैभन्दा कम डडेलधुराबाट ७६ उजुरी दर्ता भएका छन् । कञ्चनपुरमा १९२, अछाममा १२४, बाजुरामा १२०, बैतडीमा ९५, बझाङमा ८७, दार्चुलामा ८३ र डोटीमा ७९ उजुरी दर्ता भएका छन् । चालू आर्थिक वर्षमा ६१० उजुरी फस्र्योट गरिएकोमा ५३८ उजुरी बाँकी छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले सार्वजनिक निकायका कर्मचारीले ‘अख्तियार देखाएर’ काम नगर्ने प्रवृत्ति पनि भ्रष्टाचारकै रूप भएको बताए । सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव वैकुण्ठप्रसाद अर्यालले भ्रष्टाचार निवारणका लागि कर्मचारी स्वयं नैतिकवान हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा महेन्द्रनगर कार्यालयमा कार्यरत शाखा अधिकृत चेतराज भट्ट र इन्जिनियर सुलभ न्यौपानेलाई उत्कृष्ट अख्तियार अनुसन्धान सेवा पुरस्कार २०८२ प्रदान गरिएको छ । उनीहरूलाई जनही २०–२० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

Loading...