प्रतिनिधि सभाको निर्वाचन लक्षित गर्दै कांग्रेसले सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटायो

दोस्रो विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तन गरेको नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाएको छ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले पार्टीको संगठनात्मक अवस्था बुझ्न तथा चुनावी तयारीलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरूलाई प्रदेश तथा जिल्लामा खटाएको हो।

Navadurga sun

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित प्रदेशअन्तर्गतका जिल्लामा पार्टीको अवस्था अध्ययन गर्ने, संगठन सुदृढीकरणमा सहयोग गर्ने तथा आवश्यक विषयमा केन्द्रीय तहसँग समन्वय गर्ने जिम्मेवारी पाएका छन्।

उनका अनुसार कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, इलाम, पाँचथर र झापा जिल्लामा सहमहामन्त्री डा. डीला संग्रौलालाई खटाइएको छ। कोशी प्रदेशका अन्य जिल्लाहरूमा निवर्तमान सहमहामन्त्री भिष्मराज आङ्देम्बे, अमृत अर्याल, बसन्त भट्टराई, मीन विश्वकर्मा, तारामान गुरुङ, उमेशजंग रायमाझी लगायतका नेताहरू खटिएका छन्।

बागमती प्रदेशअन्तर्गत धादिङ, रसुवा, नुवाकोट र काठमाडौंमा बहादुरसिंह लामाको नेतृत्वमा अर्जुननरसिंह केसी, डा. केदारनरसिंह केसी, राजेन्द्रकुमार केसी, प्रतिमा गौतम, जीतनारायण श्रेष्ठ र डा. अमिता प्रधानलाई जिम्मेवारी दिइएको छ। भक्तपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायत जिल्लामा पनि विभिन्न केन्द्रीय नेताहरू खटाइएको छ।

गण्डकी प्रदेशका कास्की, गोरखा, तनहुँ, बागलुङ, म्याग्दी, पर्वत लगायत जिल्लामा चीनकाजी श्रेष्ठ, ध्रुव वाग्ले, अब्दुल सत्तार, मनकुमारी गुरुङलगायतका नेताहरू परिचालन गरिएका छन्।

लुम्बनी प्रदेशमा रुपन्देही, दाङ, बाँके, कपिलवस्तु, रोल्पा, प्यूठान, गुल्मी लगायत जिल्लामा डा. गोपाल दहित, चन्द्रबहादुर केसी, कृष्णकिशोर घिमिरे, कमलप्रसाद भुसाललगायत नेताहरू खटिएका छन्।

यस्तै सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बैतडी, दार्चुला र बझाङ जिल्लामा हिमबहादुर रावल, जगतप्रसाद जोशी, नरेन्द्र भट्टलगायत केन्द्रीय प्रतिनिधिहरू खटाइएको कांग्रेस निर्वाचन परिचालन समितिले जनाएको छ।

कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा पार्टीलाई सशक्त रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ संगठन विस्तार र चुनावी रणनीति सुदृढीकरणमा केन्द्रित रहेको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...