अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–अत्तरिया बसपार्कमा आउँदै गरेको चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय मालाखेतीको आयोजनामा तालिमप्राप्त कुकुर प्रयोग गरी बसहरूको सघन चेकजाँच गरिएको हो।



प्रदेश प्रहरी कार्यालय धनगढीको केनाइन शाखाबाट मगाइएका तालिमप्राप्त कुकुरमार्फत लामो तथा छोटो दूरीमा चल्ने सवारी साधनहरूमा स्किनिङ गरिएको प्रहरीले जनाएको छ। मानिसबाट गरिने चेकजाँचको तुलनामा कुकुरद्वारा गरिने खोजतलास अझ प्रभावकारी हुने भएकाले यो विधि अपनाइएको हो।


इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्दका अनुसार फागुन २१ गते हुन लागेको चुनावलाई शान्तिपूर्ण र सुरक्षित बनाउन विस्फोटक पदार्थ तथा लागुऔषध ओसारपसार रोक्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो। अत्तरिया बसपार्क हुँदै आवतजावत गर्ने सवारी साधनलाई लक्षित गरी यो अभियान हप्तामा कम्तीमा एक दिन, जुनसुकै समयमा पनि निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए।
आज गरिएको स्किनिङका क्रममा एक दर्जनभन्दा बढी सवारी साधन चेकजाँच गरिएको भए पनि कुनै पनि विस्फोटक पदार्थ वा लागुऔषधजन्य सामग्री फेला नपरेको डीएसपी चन्दले बताए। चुनाव नजिकिँदै जाँदा सुरक्षा सतर्कता अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।





