माघे संक्रान्तिमा कैलालीको गोदावरी धाममा भक्तजनको घुइँचो

अत्तरिया- माघे संक्रान्तिको अवसरमा कैलाली जिल्लाको प्रसिद्ध धार्मिक स्थल गोदावरी धाममा स्नान गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।

सूर्य उत्तरायण हुने दिनका रूपमा मनाइने माघे संक्रान्तिमा पवित्र स्नान, दान तथा पूजा–आराधना गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वासअनुसार टाढा–टाढाबाट आएका श्रद्धालुहरू गोदावरी धाममा भेला भएका हुन्।

Navadurga sun

बिहान सबेरैदेखि गोदावरी नदी तथा धाम परिसरमा भक्तजनको बाक्लो चहलपहल देखिएको थियो। श्रद्धालुहरूले गोदावरी नदीमा स्नान गरी देवी–देवताको पूजा, तिल, घ्यू, चाकु, तरुललगायतका परिकार चढाउने र दान गर्ने परम्परा निर्वाह गरेका छन्। धार्मिक विश्वासअनुसार माघे संक्रान्तिलाई रोग–व्याधि नाश हुने, आत्मशुद्धि हुने तथा नयाँ ऊर्जा प्राप्त हुने दिनका रूपमा लिइन्छ।

गोदावरी धाम व्यवस्थापन समितिका अनुसार प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा हजारौं भक्तजन यहाँ स्नान गर्न आउने गर्दछन्। यस वर्ष पनि भक्तजनको उपस्थिति उल्लेख्य रहेको समितिले जनाएको छ।

धार्मिक आस्थासँगै माघे संक्रान्तिले स्थानीय व्यापार व्यवसायलाई समेत चलायमान बनाएको छ। धाम आसपास चिया, नास्ता, पूजा सामग्री तथा स्थानीय उत्पादनको व्यापार बढेको देखिएको छ।

माघे संक्रान्ति धार्मिक मात्र नभई सामाजिक तथा सांस्कृतिक महत्व बोकेको पर्वसमेत हो। विशेषगरी थारु समुदायले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै विशेष परिकार, नाचगान तथा पारिवारिक जमघट गर्ने परम्परा रहेको छ। माघे संक्रान्तिको अवसरमा गोदावरी धाममा देखिएको भक्तजनको उत्साहले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...