धनगढी- सुदूरपश्चिम प्रदेशमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि २० हजार ७२७ प्रहरी परिचालन हुने भएका छन् । निर्वाचन सुरक्षा योजनाअन्तर्गत परिचालन हुनेमध्ये ७ हजार ३७४ नेपाल प्रहरी र १३ हजार ६६९ निर्वाचन प्रहरी रहने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


प्रदेश प्रहरी कार्यालय, निर्वाचन सेलका प्रहरी निरीक्षक धर्म विष्टका अनुसार, “निर्वाचन सुरक्षा योजनाअनुसार मतदानस्थलको पहिलो सुरक्षा घेरामा नेपाल प्रहरी खटाइनेछ । हरेक मतदान केन्द्रमा तीन प्रहरीको सट्टा पाँच जनाका दरले निर्वाचन प्रहरी परिचालित हुनेछन् ।”



यसबाहेक, सशस्त्र प्रहरी बल र नेपाली सेना पनि आफ्ना सुरक्षा योजनाअनुसार निर्वाचनको सुरक्षामा खटिने जानकारी प्रहरी प्रवक्ता गौतम मिश्रले दिएका छन्।
प्रदेशभर १,१७८ मतदानस्थल र २,१८६ मतदान केन्द्र कायम गरिएको छ । सुरक्षा व्यवस्थालाई आधार मानेर ३०२ मतदानस्थल सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । कैलालीमा ५, कञ्चनपुरमा ३, अछाममा २ र बाँकी ५ जिल्लामा १÷१ क्षेत्र रहेका छन् ।