कञ्चनपुरमा १६४ रुख अवैध कटान प्रकरण: सोधपुछ सकियो, दोषी पहिचान हुन सकेन

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनक्षेत्रबाट अवैध रूपमा काटिएका रुखबारे छानबिन गर्न गठन गरिएको समितिले सोधपुछको काम सकाएको छ। तर अवैध रूपमा रुख कटान गराउने र काट्ने व्यक्तिको पहिचान भने खुल्न सकेको छैन।

गत मङ्सिर ११ गते दिउँसोको समयमा उक्त सामुदायिक वनबाट १६४ वटा रुख अवैध रूपमा कटान गरी गायब पारिएको थियो। घटनापछि सबडिभिजन वन कार्यालय वाणीका प्रमुख भरत साहको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो।

Navadurga sun

छानबिन समितिले वडा नम्बर ७ का वडाध्यक्ष घुम्मन राना, गौरीघाट सामुदायिक वनकी अध्यक्ष कुमारी बोहोरा सहित आठ जना पदाधिकारीसँग सोधपुछ गरेको छ। समितिका संयोजक साहका अनुसार सोधपुछका क्रममा सामुदायिक वनका पदाधिकारी तथा वडाध्यक्षले कसको आदेशमा रुख काटिएको हो भन्ने जानकारी नभएको बयान दिएका छन्।

एकै पटक ठूलो परिमाणमा रुख कटान गरिएपछि समितिले वनक्षेत्रमा १६४ वटा रुखका ठुटा फेला पारेको थियो। जसमध्ये १०१.५५ क्युफिट खयर र ८६.०१ क्युफिट सिसौको काठ जङ्गलमै काटेर छाडिएको अवस्थामा भेटिएपछि ती काठ सङ्कलन गरी घाटगद्दी गरिएको छ। बाँकी काठ भने गायब रहेको समितिले जनाएको छ।

गायब पारिएको काठको खोजीका लागि वडा नम्बर ७ स्थित कार्की टोलका झन्डै एक सयभन्दा बढी स्थानीयको घरघरमा खानतलासी गरिए पनि काठ फेला पर्न नसकेको साहले बताए।

स्थानीय, जनप्रतिनिधि र वनका पदाधिकारीसँग गरिएको विस्तृत सोधपुछका बाबजुद पनि अवैध रूपमा रुख कटान गराउने र प्रत्यक्ष रूपमा कटान गर्ने व्यक्तिको पहिचान हुन नसकेको छ। समितिले थप अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...