डडेल्धुरा कारागारमा कैदीबन्दीको आन्दोलन

डडेल्धुरा– डडेल्धुरा कारागारका कैदीबन्दीहरू विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलनमा उत्रिएका छन्। बन्दीगृहभित्र नाराबाजी गर्दै उनीहरूले माग सुनुवाइ नभए आन्दोलन उग्र बनाउने र अनसन बस्ने चेतावनी दिएका छन्।

कैदीबन्दीका अनुसार वैशाखदेखि असोजसम्म प्रयोग हुने मौसमी कपडाबापतको रकमका लागि दुई महिना अघि नै भरपाईमा दस्तखत गरिए पनि रकम प्राप्त भएको छैन। साथै, २०८० सालदेखि कामदारी सुविधा नपाएको, सरसफाइ सामग्री र अन्य आवश्यक सामान आफ्नै खर्चमा किन्न बाध्य भएको उनीहरूको गुनासो छ।

Navadurga sun

भेटघाट कक्ष हुँदाहुँदै पनि परिवारसँग सहज भेटघाट गर्न नदिइएको, घरबाट ल्याइने खानेकुरामा रोक लगाइएको, गुनासो गर्दा धम्की र कुटपिट हुने गरेको तथा स्वास्थ्य उपचारमा बेवास्ता गरिएको आरोप उनीहरूले लगाएका छन्। माटो सफाइका लागि आएको १० लाख रुपैयाँको काम आफूहरूबाट गराइए पनि पारिश्रमिक नदिएको दाबी पनि गरिएको छ। जिल्ला प्रशासन कार्यालयमा गुनासो गर्दा समेत सुनुवाइ नभएको उनीहरूको भनाइ छ। कारागारभित्र आर्थिक चलखेल भएको आरोप लगाउँदै केही कर्मचारीको नामसमेत उनीहरूले उल्लेख गरेका छन्।

यता, जेलर सन्तोष भट्टले सबै आरोप अस्वीकार गर्दै यस वर्ष बजेट अभावका कारण कपडा भत्ता दिन नसकिएको बताए। उनका अनुसार गत वर्ष कपडा भत्ता ४ हजार रुपैयाँ पुर्‍याइए पनि यसपटक उपलब्ध बजेटले प्रतिव्यक्ति ३ हजार रुपैयाँ मात्र दिन सकिने अवस्था छ, तर कैदीबन्दीहरूले ४ हजार नै मागेपछि समस्या आएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर ओलीले नियमअनुसार जाडोको कपडाबापत ४ हजार रुपैयाँ दिनुपर्ने व्यवस्था रहेको तर कारागारको कुल बजेट ३ लाख ५० हजार मात्रै भएकाले रकम अपुग भएको स्पष्ट पारे। उनले मन्त्रालय र विभागमा रकम निकासाका लागि पहल भइरहेको बताए। हाल डडेल्धुरा कारागारमा १३२ जना कैदी तथा थुनुवा छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...