

धनगढी- चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट खर्च अपेक्षाअनुसार हुन सकेको छैन । विशेषगरी पुँजीगततर्फको खर्च अत्यन्त न्यून रहेकाले विकास–निर्माणका काम प्रभावित भएका छन् ।


प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मंसिर मसान्तसम्म प्रदेश सरकारले कुल पुँजीगत बजेटको मात्र २ प्रतिशत खर्च गरेको छ । १९ अर्ब ८३ करोड २ लाख ६ हजार रुपैयाँ पुँजीगत बजेटमध्ये पाँच महिनामा ४३ करोड १ लाख १० हजार रुपैयाँ मात्रै खर्च भएको प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले जानकारी दिए। गत आर्थिक वर्षको यही अवधिमा पुँजीगत खर्च ७ प्रतिशत पुगेको थियो ।



चालुतर्फ पनि खर्च सन्तोषजनक देखिएको छैन । १३ अर्ब ६३ करोड ५६ लाख ४२ हजार रुपैयाँ चालु बजेटमध्ये मंसिरसम्म १५.४५ प्रतिशत अर्थात् २ अर्ब १० करोड ६७ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । यस अवधिमा प्रदेश सरकारको कुल खर्च २ अर्ब ५३ करोड ६८ लाख ८६ हजार रुपैयाँ पुगेको छ, जुन कुल बजेटको करिब ७ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेश सरकारको कुल बजेटको झण्डै आधा हिस्सा भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छ । उक्त मन्त्रालयले पाएको १५ अर्ब ३२ करोड १७ लाख ४० हजार रुपैयाँ बजेटमध्ये अहिलेसम्म पुँजीगततर्फ ३५ करोड ५० लाख ९४ हजार र चालुतर्फ १४ करोड ३४ लाख २२ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । दोस्रो ठूलो बजेट पाएको सामाजिक विकास मन्त्रालयको प्रगति पनि कमजोर देखिएको छ । ७ अर्ब ५ करोड ५२ लाख ९७ हजार रुपैयाँ बजेटमध्ये मंसिरसम्म ८५ करोड ४७ लाख ३९ हजार रुपैयाँ मात्र खर्च भएको छ ।
अन्य मन्त्रालयहरूको बजेट कार्यान्वयन अवस्था पनि निराशाजनक रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । अधिकांश योजनाको कार्यान्वयन प्रक्रिया ढिलो सुरु हुनु र जेन–जी आन्दोलनका क्रममा मन्त्रालय तथा मातहतका कार्यालयमा भएको क्षतिका कारण बजेट खर्च सुस्त भएको जनाइएको छ ।
प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले जेन–जी आन्दोलनका क्रममा कार्यालयमा भएको क्षतिले व्यवस्थापनमा समस्या उत्पन्न भई बजेट खर्च प्रभावित भएको बताए ।





