

लक्ष्मी भट्ट/अत्तरिया- दुर्गालक्ष्मी बहुमुखी क्याम्पस जाने मुख्य बाटो अझैसम्म कालोपत्रे नहुँदा विद्यार्थी, कर्मचारी तथा स्थानीयवासी निरन्तर समस्या झेल्न बाध्य भएका छन् । करिब १७०० विद्यार्थी र ४० भन्दा बढी शैक्षिक कर्मचारी मात्रै होइन, बास्कोटा गाउँका सबै जनताले प्रयोग गर्ने यो महत्वपूर्ण बाटो बेवास्तामा परेको हो ।



प्रदेश सरकार, संघीय सरकार तथा स्थानीय तहका जिम्मेवार निकायहरूबाट आवश्यक पहल नहुँदा लामो समयदेखि यो सडकको स्तरोन्नति ठप्प छ । बाटोको केही भागमा गरिएको कालोपत्रे समेत अहिले खाल्डाखुल्डी परेर पूर्ण रूपमा बिग्रिएको स्थानीयवासीको गुनासो छ ।


स्थानीय जनताका अनुसार सम्बन्धित निकायहरूले यो सडकलाई प्राथमिकता दिएर तत्काल कालोपत्रे गर्नुपर्ने अत्यावश्यकता देखिन्छ । निर्वाचनका समयमा केही जनप्रतिनिधिले सडक पिच गर्ने आश्वासन दिए पनि चुनाव सकिएपछि विषय ओझेलमा परेको आरोप उनीहरूको छ ।
सुदूरपश्चिम प्रदेशका भूतपूर्व सामाजिक विकास मन्त्रीको कार्यकालमा पनि सडक कालोपत्रे कार्य अगाडि बढ्न नसक्नु स्थानीयका लागि निराशाजनक रहेको छ । विशेषगरी, भूतपूर्व सामाजिक विकास मन्त्री कृष्ण सुवेदीकै घर जाने बाटो पनि यही भएकाले झनै अपेक्षा गरिएको थियो । तर हालसम्म कुनै ठोस काम अघि नबढेपछि क्षेत्रका जनता र विद्यार्थीहरूले अबका सरोकारवाला निकायहरूले यो सडकलाई उच्च प्राथमिकतामा राखेर तत्काल कालोपत्रे गर्न जोडदार माग गरेका छन् ।