कैलाली प्रशासनद्वारा आंशिक निषेधाज्ञा जारी (सूचना सहित)

धनगढी- जिल्ला प्रशासन कार्यालय कैलालीले आंशिक निषेधाज्ञा जारी गरेको छ । भारतका केही राज्यहरूमा कोरोना संक्रमणको दर बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर प्रशासनले विभिन्न आदेश जारी गरेको हो ।

बुधबार एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्रशासनले कडाई गरेको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालद्वारा हस्ताक्षरित आदेशमा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न नपाइने भनिएको छ । यस्तै, धार्मीक तथा सामाजिक स्थलहरुमा सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

त्यसैगरी कोरोना संक्रमणको सम्भावनालाई मध्यनजर गरी सम्बन्धित निकायलाई क्वारेन्टिन तथा आइशोलेशन तयारी अवस्थामा राख्न भनिएको छ । सबै कार्यालय, शैक्षिक संस्थाहरुमा सामाजिक दुरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।

यस्तै बैठक, सेमिनार गोष्ठी भर्चुअल माध्यमबाट गर्ने, यदि अत्यावश्यक भएमा जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्ने भनिएको छ । यसैगरी सीमा नाकाबाट भित्रिनेहरुको स्वास्थ्य परीक्षण गर्ने, रात्रिकालिन समयमा सञ्चालन हुने होटेल, रेष्टुरेन्ट तथा बारहरुमा भिडभाड नगर्न समेत जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ ।

यी आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने पनि जारी आदेशमा उल्लेख गरिएको छ ।

Loading...