

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा आफैंले गरेको तालाबन्दीका विषयमा आवश्यक समन्वयका लागि जेनजी समूहले जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय बैतडीलाई आग्रह गरेको छ।


मंगलबार दुवै कार्यालयमा निवेदन बुझाउँदै समूहले आफ्ना माग र विषयवस्तुबारे जानकारी गराएको जेनजी समूहका अगुवा विशाल भट्टले बताएका छन्।



उनका अनुसार समूहले राखेका माग सम्बोधनका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, गाउँकार्यपालिका र जेनजी समूहको सहभागितामा लाइभ छलफल हुनुपर्ने र माग पूरा हुने सुनिश्चिततापछि मात्रै तालाबन्दी खोलिने बताइएको छ।
गत शुक्रबार समूहले गाउँपालिकाले माग अनुसार सूचना नदिएको भन्दै कार्यालयमा तालाबन्दी गरेको थियो। तालाबन्दीका कारण गाउँपालिकाका सबै कामकाज ठप्प छन्, जसले गर्दा सेवाग्राही समेत मारमा परेका छन्।
“हाम्रो कुनै गलत मनसाय होइन, हाम्रो अभियान भ्रष्टाचारमुक्त सुर्नया हो,” भट्टले भने।
उता, गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत युवाहरूले उठाएका मागप्रति आफू सकारात्मक रहेको बताएका छन्। उनले तालाबन्दी गर्ने पक्षसँग निरन्तर संवाद भइरहेको र कानुनअनुसार दिन सकिने सूचना उपलब्ध गराउन गाउँपालिका तयार रहेको उल्लेख गरेका छन्।