इजरायलमा मारिएका विपिन जोशीको शव नेपाल ल्याउने तयारी

धनगढी- दुई वर्षअघि कृषिविज्ञ बन्ने सपना लिएर इजरायल गएका कञ्चनपुरका विपिन जोशीको मृत्यु पुष्टि भएपछि उनको परिवार शोकमा डुबेको छ।

भीमदत्त नगरपालिका–३, बिचपुरी मल्लिकार्जुन टोलका २२ वर्षीय विपिनलाई सन् २०२३ को अन्त्यतिर हमासले बन्धक बनाएको थियो। करिब दुई वर्षसम्म जीवित हुने आशामा बसेको जोशी परिवार सोमबार इजरायली पक्षले विपिनको शव फेला परेको पुष्टि गरेपछि शोकाकुल बनेको हो।

Navadurga sun
Godawari sandesh

हमासले सोमबार रेडक्रसको सहयोगमा चार जनाको शव इजरायली सुरक्षा फोर्सलाई हस्तान्तरण गरेको थियो। त्यसको फरेन्सिक परीक्षणपछि ती शवमध्ये एक विपिनको भएको पुष्टि भएको इजरायली अधिकारीहरूले जनाएका छन्। इजरायलको नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनको प्रतिवेदनअनुसार विपिनको हत्या बन्धक अवस्थामै सन् २०२३ को अन्त्यतिर भएको दाबी गरिएको छ।

Dadeldhura hospital

विपिन जोशी विसं २०८० भदौमा कृषिअध्ययनका लागि इजरायल उडेका थिए। परिवारका अनुसार, विपिनसँग दुई वर्षदेखि कुनै सम्पर्क हुन सकेको थिएन। अमेरिकामा रहेका आमा र बहिनी अहिले नेपाल फर्कने तयारीमा छन् भने बुबा महानन्द जोशी घरमै छन्।

नेपालस्थित इजरायली दूतावासमार्फत सोमबार बिहान भिडियो कन्फ्रेन्समा इजरायली अधिकारीहरूले विपिनको मृत्युबारे औपचारिक जानकारी दिएका थिए।

यसैबीच, परराष्ट्र मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै विपिनको शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाएको छ। परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायली परराष्ट्र मन्त्रालयका महानिर्देशक इडेन बार तालसँगको टेलिफोन संवादमा यसबारे जानकारी प्राप्त भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “विपिन जोशीको निधनले नेपाली जनसमुदायलाई गहिरो दुःख परेको छ। उहाँको शव नेपाल ल्याएपछि पनि मृत्युको वास्तविक कारण र परिस्थितिबारे सम्बन्धित निकायहरूसँग सहकार्य गरी सत्यतथ्य पत्ता लगाउने र परिवारलाई न्याय दिलाउने पहल निरन्तर गरिनेछ।”

Loading...