गोदावरी नगरपालिका कैलालीको पहिलो जग्गा वर्गिकरण सम्पन्न गर्ने पालिका

Navadurga sun

अत्तरिया- गोदावरी नगरपालिका आफ्नो क्षेत्रभित्रको जग्गा वर्गिकरण गर्ने कैलाली जिल्लाको पहिलो स्थानीय तह बनेको छ । नगरपालिकाले भू–उपयोग ऐन र नियमावलीअनुसार क्षेत्रका जग्गालाई विभिन्न उपयोगका वर्गमा विभाजन गरी सम्बन्धित नापी तथा मालपोत कार्यालयमा विवरण बुझाएको हो ।

नगरपालिकाका अधिकारीका अनुसार, नापी र मालपोत डाटाको भेरिफिकेशन प्रक्रिया सकिएपछि अब करिब एक देखि दुई दिनभित्र कित्ताकाट प्रक्रिया खुल्नेछ । यसपछि जग्गा खरिद–बिक्री, पञ्जिकरण र कानुनी कार्यहरू सजिलै हुने अपेक्षा गरिएको  छ।

गोदावरी नगर प्रमुख बिरेन्द्र भट्टले जग्गा वर्गिकरण कार्यलाई नगरपालिकाको महत्वपूर्ण उपलब्धि भन्दै यसले भू–उपयोगमा स्पष्टता ल्याउने बताएका छन् ।

“जग्गा वर्गिकरण कार्य सम्पन्न हुनु हाम्रो नगरको ठूलो उपलब्धि हो,” उनले भने, “यसले विकास योजना, लगानी र नागरिक सेवामा पारदर्शिता र सहजता ल्याउनेछ ।”

नगरपालिकाले वर्गिकरणसँगै कर संकलनलाई व्यवस्थित बनाउने, नागरिक सेवामा सुधार ल्याउने र जग्गासम्बन्धी विवाद न्यूनीकरण गर्ने लक्ष्य लिएको छ ।

यसैबीच, नगरपालिकाले वर्गीकृत जग्गाको डिजिटल डाटाबेस तयार पार्ने तयारी समेत थालेको छ । यसले नागरिकलाई आवश्यक जानकारीमा सहज पहुँच दिलाउने र प्रशासनिक कार्य प्रणालीलाई अझ पारदर्शी र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

Loading...