अत्तरिया- हत्या, डकैती र चोरीका अनेकौं मुद्दामा संलग्न रहेका एक नेपाली नागरिक भारतीय प्रहरीको इन्काउन्टरमा मारिएका छन् ।

भारतीय प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–६, लालपुर निवासी भीम जोरा सोमबार राति दिल्लीस्थित आस्थाकुञ्ज पार्कमा प्रहरीसँगको गोली हानाहानमा मारिएका हुन् । गुडगाउँ र दिल्ली प्रहरीले संयुक्त रूपमा गरेको सो कारबाहीमा जोरा गम्भीर घाइते भएका थिए र उपचारका लागि एम्स ट्रमा सेन्टर लैजाने क्रममा उनको मृत्यु भएको बताइएको छ ।


भारतीय प्रहरीका अनुसार जोरा “कुख्यात अपराधी” थिए र उनी भारतका विभिन्न ठूला शहरहरूमा चोरी र लुटपाटमा संलग्न गिरोहका प्रमुख थिए। उनका विरुद्ध कयौं मुद्दा दर्ता थिए, जसमा मे २०२४ मा दिल्लीको जांगपुरामा डा. योगेशचन्द्र पौलको हत्या र अक्टोबर २ मा गुडगाउँको सेक्टर ४९ मा भाजपाका मेहरौली जिल्ला उपाध्यक्ष ममता भारद्वाजको घरमा भएको २० लाख रुपैयाँको चोरी पनि समावेश छन्।
जोरा पक्राउका लागि भारतीय प्रहरीले १ लाख रुपैयाँको इनाम समेत घोषणा गरेको थियो। प्रहरीले चोरीको मुद्दामा उनका सहयोगी युवराज थापालाई पक्राउ गरी सोधपुछ गर्दा जोरा नै मुख्य योजनाकार रहेको तथ्य बाहिर आएको जनाएको छ।
प्रहरीका अनुसार सोमबार राति गुडगाउँका प्रहरी उपरीक्षक राजेशकुमार फोगट र सहायक प्रहरी आयुक्त ललित दलालको नेतृत्वमा कारबाही भइरहेको बेला जोराले प्रहरीमाथि गोली चलाएका थिए। जवाफी कारबाहीमा जोरा घाइते भएका थिए भने उनका एक सहयोगी भाग्न सफल भएका छन्।
भारतीय मिडिया नवभारत टाइम्सका अनुसार जोरा सन् २०१४ मा सूरत, २०२२ मा कर्नाटक र गाजियाबादमा भएका अपराधहरूमा पनि जोडिएका थिए ।
