जेनजी आन्दोलनः १४ हजारभन्दा बढी कैदीबन्दी फरार, ५,६९७ अझै सम्पर्कबाहिर

देशभर चर्किएको जेनजी आन्दोलनको अवसर पारेर देशका विभिन्न २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट फरार भएका झण्डै १४ हजार ५५३ कैदीबन्दीमध्ये अहिले पनि ५ हजार ६९७ जना अझै सम्पर्कबाहिर रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

कारागार व्यवस्थापन विभागका अनुसार, आन्दोलनकै क्रममा विभिन्न कसुरमा सजाय भोगिरहेका १३ हजार ५८९ कैदी र ९६४ बालबन्दी गरी कुल १४ हजार ५५३ जना फरार भएका थिए । तीमध्ये अहिले सम्म ८,५१० कैदी र ३४१ बालबन्दी स्वेच्छिक वा नियन्त्रणपछि कारागारमा फर्काइएका छन् । तर, अझै ५,०७९ कैदी र ६१८ बालबन्दी फरार छन् ।

फरारहरूको बढ्दो संख्याले सार्वजनिक सुरक्षा चुनौती थपिएको भन्दै सरकारले देशभर विशेष खोज तथा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ । गृह मन्त्रालयले असोज १० गतेसम्म कारागार नफर्किएका बन्दीलाई कडा कारबाही गर्ने चेतावनीसहित ‘अल्टिमेटम’ जारी गरेको थियो ।

फरार बन्दीहरूलाई खोजी गर्न सरकारले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदलहरू गठन गरेको छ, जसमा सुरक्षा निकायका प्रतिनिधिहरू समेत समावेश छन् । ती कार्यदलमार्फत निगरानी, खोजी तथा नियन्त्रण कार्य तीव्र पारिएको छ ।

प्रदर्शनको उथलपुथलको बेला झुम्का, नख्खु, डिल्लीबजार, चितवन, कास्की, मकवानपुर, तनहुँ, पर्वत, बझाङ, कैलाली, कञ्चनपुर लगायतका कारागारहरूबाट कैदी फरार भएका थिए । यस्तै मोरङ, भक्तपुर, डोटी, रूपन्देही, नौवस्ता लगायतका बालसुधार गृहबाट समेत सयौँ बालबन्दी भागेका थिए ।

भाग्ने क्रममा रामेछापमा ३ जना र धादिङमा २ जना कैदी सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका छन् । यस्तै, नौवस्ता बालसुधार गृहमा झडप हुँदा ५ बालबन्दीको मृत्यु भएको पुष्टि भएको छ ।

हाल देशभर ७२ जिल्लामा ७५ वटा कारागार छन्, जहाँ ३० हजार ६४६ जना कैदीबन्दी सजाय भोगिरहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी पूर्व र पूर्वी रुकुम जिल्लामा भने हालसम्म कारागार छैन ।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, कारागार कार्यालयहरूले फरार सबैलाई स्वेच्छिक रूपमा फर्कन बारम्बार सूचना जारी गरिरहेका छन् । तर अटेर गर्नेहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने बताइएको छ।

Loading...