अत्तरिया- गोदावरी नगरपालिकाले कार्यालयका नाममा दर्ता भएका दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) तीन दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ।


नगरपालिकाको १३३औं कार्यपालिका बैठकले गरेको निर्णयअनुसार शाखा प्रमुख, प्राविधिक कर्मचारी र वडा अध्यक्ष बाहेक अन्य पदाधिकारी तथा कर्मचारीले प्रयोग गरिरहेका सवारी साधनहरू अव्यवस्थित रूपमा प्रयोग भइरहेको भन्दै फिर्ता गर्न भनिएको हो।
सो निर्णय कार्यान्वयनका लागि नगरपालिकाका सबै वडा कार्यालय, मालाखेती अस्पताल, आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा कृषि र पशुपन्छी सेवा केन्द्रहरूलाई पत्र पठाइएको छ।
सूचनामा भनिएको छ, “शाखा प्रमुख/प्राविधिक कर्मचारी र वडा अध्यक्षज्यूहरूले प्रयोग गरिरहेका बाहेक अन्य पदाधिकारी तथा कर्मचारीहरूले सूचनाको मितिले तीन दिनभित्र मोटरसाइकल/स्कुटर यस कार्यालयको जिन्सी शाखामा बुझाउनुपर्नेछ, अन्यथा नियमानुसार कारबाही हुनेछ।”
नगर प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले हस्ताक्षर गरेको उक्त पत्रमा कार्यालयले सवारी साधन व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य लिएको जनाएको छ।