लक्ष्मी भट्ट/अत्तरिया- नेपाल कम्युनिष्ट पार्टी (विप्लव नेतृत्व) गोदावरी नगर समितिको आयोजनामा “जेनजी विद्रोह : वर्तमान परिस्थिति र निकासको प्रश्नमा नेकपाको दृष्टिकोण” विषयक अन्तरक्रिया कार्यक्रम अत्तरियास्थित प्रतिभा सामूहिक पुस्तकालयको भवनमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा पार्टीका कञ्चनपुर जिल्ला इन्चार्ज बी.पी. उपाध्याय (कमरेड विराट) प्रमुख वक्ता रहेका थिए । त्यसैगरी कार्यक्रममा लोकराज पाण्डे ‘आगो’, बिनोद बिष्ट, बाजी कामी, टंक कोइराला, मिन ओझा, नगर अध्यक्ष कैलाश जोशी, समुद्र थापा लगायतका वक्ताहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव दानबहादुर धामीले गरेका थिए ।

उपाध्यायले आफ्नो मन्तव्यमा वर्तमान संविधान असफल भइसकेको दाबी गर्दै संसदवादी शक्तिहरू जनताका समस्याबाट पछि हटेको आरोप लगाए । उनले माओवादी जनयुद्धले ल्याएका उपलब्धिहरूलाई विफल पार्ने काम भएको बताउँदै जेनजेड विद्रोहका मागहरू र नेकपाले उठाएका प्रश्नहरू एउटै भएको स्पष्ट पारे । “प्रत्यक्ष निर्वाचित राष्ट्रपति, भ्रष्टाचार निवारण आयोगको सशक्त गठन, शिक्षा–स्वास्थ्य–गाँस, बास, कपासको ग्यारेन्टी हाम्रो मुख्य एजेण्डा हो,” उनले भने। उनका अनुसार यस्ता मागहरू पूरा नभए पुनः विद्रोह अपरिहार्य हुन्छ ।

त्यसैगरी, युवा नेता लोकराज पाण्डे ‘आगो’ ले राजनीति क्षेत्रमा कम्तीमा ४० प्रतिशत नेतृत्व युवालाई दिनुपर्ने प्रस्ताव अघि सारे। उनले आन्दोलनका उपलब्धिहरूको रक्षा गर्न सबै दल सचेत हुनुपर्ने र नयाँ पुस्ताले स्वतन्त्रता चाहेको बताए। “नेपाली आन्दोलनको नयाँ आयाम यही युवा पुस्ताको विद्रोह हो,” उनले स्पष्ट पारे।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य टंक कोइरालाले भ्रष्टाचारले सीमा नाघिसकेको टिप्पणी गर्दै हालको सरकारले जेनजी आन्दोलनका माग सम्बोधन नगरे लामो समय टिक्न नसक्ने चेतावनी दिए । उनका अनुसार, “यो संविधान विफल भइसकेको छ, जनताका मागहरू सम्बोधन नभए फेरि पनि विद्रोह अपरिहार्य हुन्छ ।”
अन्य वक्ताहरूले पनि सुशीलाको नेतृत्वमा बनेको हालको सरकारलाई स्थायी समाधान दिन नसक्ने भन्दै आलोचना गरेका थिए। उनीहरूले जेनजी आन्दोलनलाई दबाउने होइन संवादमार्फत सम्बोधन गर्नुपर्ने, पुस्तान्तरणको बेला आएको, र युवाहरूलाई अवसर नदिए आन्दोलनको चाप अझै बढ्ने निष्कर्ष प्रस्तुत गरे ।
कार्यक्रम “एकीकृत जनक्रान्ति जिन्दाबाद, नेपाली विशेषताको समाजवाद जिन्दाबाद” भन्ने नारासहित सम्पन्न भएको थियो ।
