धनगढी- जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका प्रहरी कार्यालयका थुनुवा कक्षहरू रित्तिएका छन् । जेन–जी पुस्ताको आन्दोलनका क्रममा अदालत र प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएपछि थुनुवा कक्ष खाली गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता राजकुमार सिंहका अनुसार अदालतले म्याद थप गर्न नसकेका कारण बाध्य भएर थुनुवाहरूलाई जमानीमा छोडिएको हो । हालसम्म जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयहरूबाट ९४ जना थुनुवा घर पठाइएको प्रहरीले जनाएको छ ।


प्रहरी तथ्याङ्कअनुसार जिल्ला प्रहरी कार्यालय, कैलालीबाट ६९ पुरुष र पाँच महिला गरी ७४ जना, इलाका प्रहरी कार्यालय मालाखेतीबाट नौ जना, सुखडबाट चार, लम्कीबाट दुई, टीकापुरबाट चार र भजनीबाट एक जना थुनुवा रिहा भएका छन् ।
जेन–जी पुस्ताको प्रदर्शनका क्रममा जिल्ला कारागार, कैलालीका कैदी तथा थुनुवा भगाइएका बेला प्रहरीका थुनुवा कक्षमा रहेका कैदीलाई पनि जमानीमा छाडिएको हो । अदालत बन्द भएका कारण दशैँको समयमा थप समस्या भएको प्रहरीले जनाएको छ ।
लागुऔषध, चोरी, तस्करीजस्ता अपराधमा पक्राउ परेकाहरूसमेत घर पठाइएका छन् । उनीहरू फेरि पुरानै अपराधमा संलग्न भएको गुनासो आएको प्रहरीले जनाएको छ ।
हाल जिल्ला प्रहरी कार्यालय, कैलालीमा चार जना मात्र नयाँ लागुऔषध मुद्दाका थुनुवा रहेका छन् । दशैँको समय सुरु भएकाले अपराध बढ्ने र थुनुवाको सङ्ख्या फेरि बढ्ने अनुमान गरिएको छ ।
