धनगढी- नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश नेताहरूले जेनजी आन्दोलनको क्रममा कांग्रेसमाथि भएको आक्रमणलाई सामान्य मान्न नसकिने निष्कर्ष निकालेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहको संयोजनमा मंगलबार भएको छलफलमा नेताहरूले पार्टी सभापतिदेखि नेतासम्ममाथि भएको आक्रमणलाई कांग्रेसको मनोबल गिराउने नियोजित प्रयासको रूपमा व्याख्या गरे।


छलफलमा मुख्यमन्त्री शाहले लोकतन्त्र र स्थायित्वलाई कमजोर पार्ने शक्तिहरूको हात यस आक्रमणमा रहेको दाबी गर्दै, पार्टी सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवामाथि भएको कुटपिट यसै उद्देश्यअनुरूप भएको बताए।
नेताहरूले यस्ता परिस्थितिमा कांग्रेसभित्र सुझबुझ, एकता र संगठनात्मक दृढता आवश्यक रहेकोमा जोड दिएका छन्।
छलफलमा केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट, नृपबहादुर वड, राष्ट्रिय सभा सदस्य नारायण मिश्र, नारायणदत्त भट्ट, कार्यबाहक सभापति लोकराज अवस्थी लगायतको उपस्थिति थियो।
