गोदावरी नगरपालिकाको भवन पुनर्निर्माणका लागि सर्वदलीय सहमति, सहयोगको अपिल

अत्तरिया- हालैको आगलागीबाट पूर्णरूपमा क्षति पुगेको कैलालीको गोदावरी नगरपालिकाको भवन पुनर्निर्माणका लागि नगरपालिकाले सर्वदलीय सहमति जुटाउँदै सहयोगको अपिल गरेको छ। सोमबार बसेको सर्वदलीय बैठकले पुनर्निर्माण अभियानलाई जनसहभागितामार्फत अघि बढाउने ऐक्यबद्धता व्यक्त गरेको हो।

नगरप्रमुख वीरेन्द्र भट्टले आगलागीले नगरपालिकाको भौतिक संरचना मात्र नभई महत्वपूर्ण कागजात, कम्प्युटर र उपकरणसमेत पूर्ण रूपमा जलेर नष्ट भएकाले तत्काल पुनर्निर्माण अपरिहार्य भएको बताए। उनका अनुसार अत्यावश्यक सामग्री नष्ट भएपछि सेवाप्रवाह निरन्तरता दिन गाह्रो परेको छ। यस अवस्थामा राजनीतिक दल, नागरिक समाज, राष्ट्रसेवक कर्मचारी, संघ–संस्था र आम नागरिक सबैलाई सहकार्य र सहयोग गर्न उनले आग्रह गरे।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नगरपालिकाको कार्यपालिका बैठकले पनि सेवाप्रवाहलाई सहज बनाउन सहयोग संकलन गर्ने निर्णय गरेको छ। यसका लागि नगरपालिकाले एनआइसी एसिया बैंकमा विशेष खाता नम्बर र क्युआर कोड सार्वजनिक गर्दै पारदर्शी तरिकाले सहयोग संकलन सुरु गरेको जनाएको छ।

सर्वदलीय बैठकमा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनमोर्चाका स्थानीय नेताहरूले पुनर्निर्माण कार्यमा पार्टीगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्ने प्रतिवद्धता जनाए। उनीहरूले नगरलाई संकटबाट बाहिर निकाल्न सबैको एकताबद्ध प्रयास अपरिहार्य रहेकोमा जोड दिएका छन्।

त्यस्तै, बैठकमा सहभागी स्थानीय होटल व्यवसायी धाना चोखालले निजी क्षेत्र पनि पुनर्निर्माण अभियानमा हातेमालो गर्न तयार रहेको भन्दै सहयोग गर्ने घोषणा गरिन्।

सर्वदलीय बैठकबाट आएको प्रतिवद्धता र नगरप्रमुख भट्टको अपिलसँगै गोदावरी नगरपालिकाको पुनर्निर्माण अभियानलाई अब संस्थागत रूपमा अघि बढाउने तयारी गरिएको छ।

Loading...