कैलालीको लम्कीमा अवरुद्ध पारिएको राजमार्ग सुचारु
प्रहरीको गोली लागेर घाइते भएका दुबैलाई काठमाडौं रेफर





अत्तरिया- युवतीको मृत्युपछि कैलालीको लम्कीमा अवरुद्ध पारिएको राजमार्ग सुचारु भएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्की चोकस्थित टीकापुरतर्फ जादै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका-१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।



उक्त विषयलाई लिएर आन्दोलन गरेका स्थानीयले राजमार्ग अवरुद्ध पार्नुका साथै टायर बालेर प्रर्दशन गरेका थिए । मंगलबार साँझ भने प्रहरीले बल प्रयोग गरेर उक्त अवरुद्ध राजमार्ग खुलाएको छ ।


मंगलबार दिउँसो नै प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जना घाइते भएका थिए । प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २५ वर्षीय कृष्ण प्याकुरेल र १८ वर्षीय दीपक सन्जेललाई थप उपचारको लागि नेपालगन्जबाट काठमाडौँ रेफर गरिएको प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
बसको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्कीमा स्थानीयले प्रदर्शन गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । थापाका अनुसार आक्रोशित स्थानीयबासीसँगको झडपमा ५ जना प्रहरी पनि घाइते भएको बताए ।



