धनगढी- धनगढी–खुटिया–बिपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ द्रुतमार्ग अन्तर्गत पर्ने राजपुर–सलेना सडक स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ।

धनगढी–खुटिया–बिपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ सडक आयोजना कार्यालयका इन्जिनियर दिनेशसिंह रैखोलाका अनुसार सो खण्डको करिब ५० प्रतिशत काम सम्पन्न भएको छ।

वि.सं. २०८१ साउन २२ गते, तीन वर्षभित्र १४ किलोमिटर सडक कालोपत्र गर्ने गरी सिएस, दुनिला, स्वार जेभीसँग ३८ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। राजपुर–सलेनासम्मको १४ किलोमिटर सडकमा हाल बेस हाल्ने काम सम्पन्न भइसकेको र अब कालोपत्र गर्न मात्रै बाँकी रहेको रैखोलाले बताए।
यद्यपि निर्माण सम्पन्न गर्ने समयावधि २०८४ साउन २१ गतेसम्म बाँकी रहे पनि निर्माण कम्पनीले तीव्र गतिमा काम गरिरहेको हुँदा चालु आर्थिक वर्षमै काम सम्पन्न हुने सम्भावना रहेको उनको भनाइ छ।

यसैगरी, कैलालीमा पर्ने स्याउले–हाटखोलीसम्मको सात किलोमिटर सडकमा पनि बेसलाइनको काम सम्पन्न भइसकेको र कालोपत्र गर्न मात्र बाँकी रहेको कार्यालयले जनाएको छ।
यो खण्ड बनाउन २०७९ असार १६ गते कालिका वेदांशी जेभीसँग २९ करोड ७१ लाख रुपैयाँमा सम्झौता भएको थियो। सो सडकखण्ड आगामी २०८१ असार १४ गतेसम्ममा सम्पन्न गर्ने समयसीमा तोकिएको भए पनि समयमै सक्न नसकेपछि थप २०८१ चैत २४ गतेसम्म म्याद दिइएको छ।
योजना कार्यालयका अनुसार, राजपुर–सलेना १४ किलोमिटर र स्याउले–हाटखोली सात किलोमिटर गरी २१ किलोमिटर सडक कालोपत्र गर्ने काम चालु आर्थिक वर्षमै सम्पन्न गर्ने तयारी छ।
धनगढी–खुटिया–बिपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ द्रुतमार्ग २०७२/७३ सालमा निर्माण सुरु भएको हो। करिब १८६ किलोमिटर लम्बाइको यो द्रुतमार्गमा हालसम्म ४१ किलोमिटर मात्र कालोपत्र भएको छ।
आयोजना कार्यालयका तथ्याङ्कअनुसार, अहिलेसम्म करिब १ अर्ब ३९ करोड ७१ लाख ७८ हजार रुपैयाँ खर्च भइसकेको छ। कुल लागत अनुमान भने ७ अर्ब ५४ करोड ६३ लाख ८१ हजार रुपैयाँ रहेको छ।
योजना सुरु भएको १० वर्ष पुग्दा ट्र्याक खोल्ने काम मात्र सम्पन्न भएको छ भने ४१ किलोमिटर कालोपत्र र एउटा पुल निर्माण भएको छ। यस वर्ष सरकारले परियोजनाका लागि १५ करोड रुपैयाँ मात्रै विनियोजन गरेकाले समग्र काम सुस्त भएको कार्यालयले जनाएको छ।
