धनगढी- जेनजीको आन्दोलनपछि अस्तव्यस्त बनेको धनगढीमा हतियारधारी पसेको भन्दै हल्ला फैलिएको छ । कैलालीको धनगढीस्थित फुलवारी क्षेत्रमा बिहीबार दिउँसो करिब एक दर्जन बढी हतियारधारी देखिएको स्थानीयले बताएका हुन् ।


स्थानीयका अनुसार १३ जना हतियारधारी फुलबारीको बि गाउँ पछाडिको जंगलमा देखिएका थिए । त्यसपछि सेना, प्रहरी र सशस्त्र प्रहरी बलले खोजी थालेको जनाएको छ । स्थानीयको जानकारीका आधारमा सर्च अपरेसन चलाइएको कैलाली प्रहरीका एसपी नरेन्द्र चन्दले बताए ।

यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई सतर्क रहन र अनावश्यक रूपमा बाहिर ननिस्कन पनि आग्रह गरेको छ। सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको जनाएको छ ।
जेनजीको आन्दोलनको फाइदा उठाएर कैलालीको जेलबाट सबै कैदीसमेत फरार भएका थिए । स्थानीय र प्रहरीले उनीहरू नै हतियार बोकेर घुम्न थालेको अनुमान गरेका छन् ।
