धनगढीमा सामाजिक सञ्जाल बन्दविरुद्ध पत्रकारहरूको विरोध

धनगढी- सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सञ्चारकर्मीहरूले सरकारले गरेको सामाजिक सञ्जाल बन्दविरुद्ध विरोध प्रदर्शन गरेका छन् । अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिमको अगुवाइमा आइतबार मुख्यमन्त्री कार्यालय अगाडि पत्रकारहरूको उपस्थितिमा विरोध कार्यक्रम गरिएको हो ।

Ganyapdhura gau

विरोध कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले सरकारले सामाजिक सञ्जाल नियमन गर्ने नाममा पूर्णरूपमा बन्द गर्नु अभिव्यक्ति स्वतन्त्रता, सूचना पाउने हक र जनजीवनमाथिको प्रत्यक्ष प्रहार भएको बताएका छन् ।

Navadurga sun

अनलाइन टिभी पत्रकार संघ सुदूरपश्चिमका अध्यक्ष भक्तराज जोशीले सरकारको यो कदम गैरजिम्मेवार भएको उल्लेख गर्दै “सामाजिक सञ्जाल नियमन होइन, पूर्ण बन्द गर्नु भनेको लाखौँको रोजीरोटी खोस्ने कार्य हो” भने ।

Dadhaldhura pur

यस्तै, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सरकारले आलोचना सहन नसकेको प्रस्ट भएको बताए । उनका अनुसार “आलोचना मिडिया वा सामाजिक सञ्जाल बन्द गरेर रोकिँदैन, यस्तो सोच नै नीतिविरुद्धको हो ।”

नेपाल पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष हिमालय जोशीले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई गणतन्त्र र लोकतन्त्रकै आधारस्तम्भमाथिको आक्रमण भने ।

अनलाइन टिभी पत्रकार संघका केन्द्रीय सदस्य विरेन्द्र धामीले यो कदमले लाखौँ नेपालीलाई प्रत्यक्ष असर पारेको बताए । विदेशमा रहेका नेपाली आफ्ना परिवारसँग सामाजिक सञ्जालमार्फत सम्पर्कमा रहँदै आएका थिए तर अब फेरि विछोडिएको उनको भनाइ थियो ।

उनले थपे, “म जस्तै हजारौँ युवाको रोजीरोटी डिजिटल मिडियामै निर्भर छ, सरकारले पेटमै लात हानेको छ ।” नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले सरकारले यथाशीघ्र प्रतिबन्ध फुकुवा गर्नुपर्ने माग राखे ।

विरोध कार्यक्रममा विभिन्न मिडियामा कार्यरत पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । अनलाइन टिभी पत्रकार संघले यस विषयमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

Couple
Loading...