अत्तरिया- सैपाल ग्याँस प्रा.लि., गोदावरी नगरपालिका–१, कैलालीले एलपी ग्याँसको सुरक्षित प्रयोग र ग्याँसजन्य आगलागी न्यूनीकरणका लागि ऐश्वर्य विद्या निकेतन विद्यालयमा एक जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय, कैलाली र सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गणको सहकार्यमा आयोजना गरिएको हो ।


कार्यक्रममा ग्यास सिलिन्डरको सुरक्षित प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी दिइएको थियो । विद्यालयका कोर्डिनेटरले ग्याँस सिलिन्डर प्रायः सबै घरमा भए पनि सुरक्षित प्रयोगबारे पर्याप्त जानकारी नहुँदा दुर्घटनाहरू भइरहेको बताए । “ग्यास खरिद गर्दा ध्यान दिनुपर्ने कुरा, ग्यास लिक भएको खण्डमा अपनाउनुपर्ने सावधानी, लिक हुन नदिन के उपाय अपनाउने तथा आगो निभाउने उपकरणको प्रयोगबारे व्यावहारिक जानकारी दिइयो,” उनले भने ।

सशस्त्र प्रहरी बल न. ३४ गणका एएसआइ क्षेतेन्द्र मल्लले प्रत्यक्ष जीवन रक्षात्मक अभ्यास (लाइफ डेमो) प्रस्तुत गर्दै आगलागी हुँदा अपनाउनु पर्ने विधिबारे जानकारी दिएका थिए । त्यस्तै, सैपाल ग्याँसका मार्केटिङ म्यानेजर मनोज दाहालले एलपी ग्याँसको लिकेजका कारणहरू, त्यसबाट उत्पन्न जोखिम र रोकथामका उपायहरूबारे जानकारी दिएका थिए ।
दाहालले सुदूरपश्चिम क्षेत्रमा ग्यासजन्य दुर्घटनाको संख्या बढ्दो रहेको उल्लेख गर्दै जनचेतनाको अभाव नै मुख्य कारण भएको बताए । “सामाजिक उत्तरदायित्व अन्तर्गत यो अभियान सुरू गरेका छौं,” दाहालले भने, “विद्यार्थीलाई सचेत गराएमा तिनको परिवार र समुदायमा समेत चेतना फैलिने विश्वास छ ।”
कार्यक्रमको पहिलो चरणअन्तर्गत ऐश्वर्य विद्या निकेतन पछि असार ५ गते भोली बिहीबार ऐश्वर्या बहुमुखी कलेज र असार ६ गते शुक्रबार पञ्चोदय माध्यमिक विद्यालयमा यस्ता कार्यक्रम आयोजना गरिने सैपाल ग्याँसका मार्केटिङ म्यानेजर दाहालले बताए ।