

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मनकामना टोलमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन् । स्थानीय राजु सुनारले मदिरा सेवनपछि चक्कु र ईट्टा प्रयोग गरी तीन जनामाथि आक्रमण गरेका हुन् ।


इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार, राजुले गोविन्द सुनारसँगको विवादपछि गोविन्दसहित सुनिता सुनार र सुशीला सुनारमाथि आक्रमण गरेका थिए । आक्रमणमा परी सुनिता सुनारको निधार र मुखमा चोट लागेको छ भने सुशीला सुनारको टाउकोमा र गोविन्द सुनारको निधार तथा टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।



घाइतेहरूको पुनर्वासस्थित आईबिआरडी पोलिक्लिनिकमा उपचार भइरहेको छ । अवस्था खतरामुक्त भए पनि थप निगरानीमा राखिएको चिकित्सकहरूले जनाएका छन् ।
घटना लगत्तै आरोपी राजु सुनार फरार भएका छन् । उनको खोजीका लागि प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ भने आरोपीलाई चाँडै नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ । स्थानीयले मदिरा सेवनपछिको हिंसा नियन्त्रण गर्न कडाइ गर्न माग गरेका छन् ।





