​​​​​​​सुदूरपश्चिमको भजन मण्डली राष्ट्रिय प्रतियोगितामा सहभागी

अत्तरिया- सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको अत्तरियास्थित “राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान, अत्तरिया” अन्तर्गतको भजन मण्डली टोली हालै सम्पन्न राष्ट्रिय स्तरको भजन प्रतियोगितामा सहभागिता जनाउँदै पोखरा पुगेको छ । देशभरिका विभिन्न प्रदेशहरूबाट सहभागी ३१९ समूह मध्ये सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व यो टोलीले पहिलो पटक गरेको हो ।

टोलीको नेतृत्व संस्थाका अध्यक्ष लिलाधर बास्कोटाले गरेका थिए । उनले यो सहभागिता सुदूरपश्चिम प्रदेशकै सांस्कृतिक इतिहासमा गौरवपूर्ण अवसर भएको बताए । “हामीले हाम्रो संस्कृतिलाई संरक्षण गर्दै देशको सबैभन्दा ठूलो सांस्कृतिक मञ्चमा प्रस्तुत गर्न पाएका छौं, जुन एक ऐतिहासिक क्षण हो,” बास्कोटाले भने ।

godawari10 Mahila hinsa
Navadurga sun

“पोखरामा आयोजित राष्ट्रिय भजन प्रतियोगितामा प्रस्तुति दिँदै राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान, अत्तरिया टोली।”

Dadeldhura hospital

प्रतियोगितामा टोलीले हिन्दू धर्म, संस्कार र परम्परासँग सम्बन्धित परम्परागत भजन तथा गीति प्रस्तुति राख्दै भक्ति भावना र सांस्कृतिक चेतना फैलाएको थियो । हिन्दू धर्मावलम्बीहरूका लागि भजन मण्डलीको भूमिका पूजा, अर्चना, धार्मिक अनुष्ठान तथा उत्सवहरूमा अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।

संस्थाले पछिल्लो समय लोप हुँदै गएका परम्परागत गीत–संगीत र सांस्कृतिक अभ्यासहरूलाई पुनः जागृत गर्ने प्रयास गर्दै आएको छ । बास्कोटाले गोदावरी क्षेत्रमा रहेर सुदूरपश्चिमका सम्पूर्ण जिल्लाको कला, संस्कृति र परम्परालाई समेट्ने अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

उनले हिन्दू धर्म र संस्कृतिमाथि भइरहेका हस्तक्षेपका बीच मौलिकता जोगाउन संस्थाको प्रयासले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । उनका अनुसार “राष्ट्रिय लोक सांस्कृतिक प्रस्तिठान, अत्तरिया” ले भजन, लोकगीत, वाद्यवाद्य, धार्मिक परम्परा लगायतका लोपोन्मुख सांस्कृतिक विधाहरूको संरक्षण, प्रवर्द्धन र प्रचारमा निरन्तर अभियान सञ्चालन गरिरहेको छ ।

संस्थाले निकट भविष्यमा प्रदेशस्तरीय सांस्कृतिक प्रशिक्षण कार्यक्रम, लोपोन्मुख गीत–संग्रह र भिडियो डकुमेन्टेसनजस्ता योजना अघि बढाउने तयारी गरिरहेको छ ।

स्थानीयबासी, संघसंस्था तथा धर्मप्रेमी समुदायले यस पहललाई सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्ता क्रियाकलापहरूले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

Loading...