

धनगढी । कैलालीबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। सोमबार भजनी नगरपालिकाबाट दुई जना र टीकापुर नगरपालिकाबाट एक जना लागूऔषधसहित पक्राउ परेका हुन ।



भजनी नगरपालिका–२ रजवारास्थितबाट ३१० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित २२ वर्षीय शंकर चौधरी र १६ वर्षीय एक किशोर पक्राउ परेका छन् ।


सुदूरपश्चिम प्रदेश ०१००८ प ४२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा उनीहरूको साथबाट लागू औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका–१ ब्लक नम्बर ११ ड्राइभरटोबाट ३३ वर्षीय आशिष् कोराला पक्राउ परेका छन् । उनको साथबाट ११० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।





