अत्तरिया- कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयमा योग ध्यान कार्यक्रम सुरु गरिएको छ । २०८२ साल जेठ १ गतेबाट औपचारिक रुपमा सुरु भएको उक्त कार्यक्रम विद्यालय सभाहलमा सञ्चालन गरिएको हो ।


विद्यालयको आयोजनामा सुरु गरिएको ध्यान कार्यक्रम प्रत्येक दिन बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताए ।
शाहका अनुसार विद्यालयमा अध्ययन–अध्यापनको निरन्तरता, शैक्षिक दबाव, थकान तथा विद्यार्थी र शिक्षकहरूमा देखिने मानसिक अस्थिरतालाई ध्यानमा राख्दै नियमित योग तथा ध्यान कार्यक्रमको थालनी गरिएको हो ।
शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको कार्यक्रममा शिक्षक, विद्यार्थी तथा विद्यालयका कर्मचारीहरूको सहभागिता रहनेछ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पतञ्जलि योग समितिका कैलाली जिल्ला अध्यक्ष तथा योगगुरु सुवास बम रहेका थिए । विशिष्ट अतिथिका रुपमा समितिका अत्तरिया अध्यक्ष दुर्गा प्रसाईंको उपस्थिति रहेको थियो ।
विद्यालयकी शिक्षिका सरस्वती पनेरुलाई सहजकर्ताको जिम्मेवारी दिइएको छ । यस कार्यक्रमले दीर्घकालीन रूपमा विद्यालयमा समग्र व्यक्तित्व विकासमा टेवा पुर्याउने बताइएको छ ।