६ महिनापछि घर फर्किए तिंकरवासी

दार्चुला । दार्चुलाको उत्तरी सिमानामास्थित व्याँस गाउँपालिकास्थित तिंकर गाउँका स्थानीय ६ महिनापछि गाउँ फर्किएका छन्। गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन्।

गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनः फर्किएका छन्। ‘छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ’, स्थानीय जसपाल तिंकरीले भने, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन्।’ छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ।

Navadurga sun
Godawari sandesh

तिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन। स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन्। व्याँस वडा नम्बर १ का वडासदस्य हितेश बुढाथोकीले भने, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ।’ आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ। राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो।

सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन। यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ।

यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँछन्। उनी भन्छन्, ‘कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ।’ २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुशी थिए। ‘भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस गर्‍यौँ’, जसमल बुढाथोकीले सुनाउछन्, ‘तर नक्सा पाएका नागरिकको लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदैछ। सडक सपना त अझै धेरै टाढाको छ।’

नक्साजारी भएपछि एकपटक सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्‍यो। नागरिकमा एक प्रकारको खुसी महसुस छायो। तर विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिंकरीको बुझाइ छ। उति बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो।

यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय तिंकरमा बस्ने गर्छन्। उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ। कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो। तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन दानसिंह भन्नुहुन्छ। चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन्।

Dadeldhura hospital

चिसो मौसम भएका कारण छ महिनागाउँ सुनसान हुन्छ। घरका ढोकामा चाबी लगाइएको हुन्छ। दानसिंहले थपे, ‘अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन। यो सबै भगवान्को देन हो।’ हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ। यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ।

स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो। यहाँ फापर, उवा, कागुनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ। उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन्। अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन्।

चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे। पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ। नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ।

परम्परागत घरले सुन्दरता दिएको छ। तिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ। फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृङ्खला, सुदूर हिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ। सौका समुदायले आफ्नै भाषा ‘रङ्ग’ बोल्छन्।

छैन आधारभूत सेवा
व्याँस गाउँपालिका–१ कातिंकरबासीहरू वर्षको करिब ६ महिना गाउँमा बसोबास गर्छन्। सो अवधिमा स्वास्थ्य चौकी नहुँदा उनीहरू सामान्य रोग लाग्दा पनि भारतीय सुरक्षाकर्मी समक्ष धाउनुपर्छ या आफैँले खलङ्गाबाट बोकेर लिएको औषधि प्रयोग गर्न बाध्य छन्।

‘सामान्य टाउको दुख्दा औषधि हुँदैन, स्थानीय जसमल बुढाथोकी भन्छन्, ‘ज्येष्ठ नागरिक बिरामी हुँदा अकालमै ज्यान गुमाउनुको विकल्प छैन।’ धेरैले सिटामोल, दमलगायत औषधि खलङ्गाबाटै आफूसँगै बोकेर लिने गर्छन्। उनीहरूको भाषामा आफ्नै स्वास्थ्यकर्मी आफैँ बिरामी जस्तै हो।

व्यास १ को छाङ्गरूमा स्वास्थ्य चौकी छ। तर तिंकर गाउँबाट छांगरू आउजाउ गर्न पाँच घण्टा बढी समय लाग्छ। गाउँमा युवा कमै बस्छन्। बिरामी हुँदा बोक्न पनि मुस्किल पर्छ। पढाई र रोजगारीको सिलसिलामा गाउँभन्दा बाहिर युवा हुँदा गाउँमा कुनै अप्ठ्यारो पर्दा समस्या हुने गर्छ। ‘पहिले त कोही बिरामी हुँदा चार पाँच दिनपछि खबर पाउने अवस्था थियो’, बुढाथोकीले भने, ‘गतवर्षदेखि ल्याण्डलाइन र नेपाल टेलिकमको टु जीफोन सञ्चालन भएपछि सहज भएको छ।’

चिसोका कारण बिरामी पर्ने जोखिम उच्च छ, तर यस क्षेत्रमा राज्यको ध्यान कम गएको देखिन्छ। सर्वसाधारण मात्र होइन यहाँका सुरक्षाकर्मीले बोेकरै औषधि लिनुपर्छ। वडा सचिव विनोदसिंह बुढाथोकीका अनुसार तिंकरमा तीन–चार वर्षअघि निर्माण थालिएको स्वास्थ्य भवन अझै पूरा हुन सकेको छैन। उनले भने, ‘समयमै बजेट नआउँदा स्वास्थ्य संस्था सञ्चालनमा आउन सकेको छैन।’ रासस

 

Loading...