कञ्चनपुरमा बाढीमा फसेका २० जनाको सकुशल उद्धार

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास क्षेत्रमा आएको बाढीमा फसेका २० जनालाई सशस्त्र प्रहरी बल नेपालको टोलीले सकुशल उद्धार गरेको छ।

पुनर्वास नगरपालिका–९ सिताबस्तीस्थित दोदा नदीमा पानीको बहाव एक्कासि बढेपछि जङ्गलमा निउरो टिप्न गएका पाँच जना महिलालाई सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो। सशस्त्र प्रहरी नायब निरीक्षक शान्तबहादुर सुनारको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त टोलीले उद्धार कार्य सम्पन्न गरेको जनाएको छ।

Navadurga sun

यस्तै, पुनर्वास नगरपालिका–९ हरियालीटोलस्थित बाहुन खोलामा पानीको सतह बढेपछि दाउरा–घाँस गर्न गएका १५ जना महिलालाई पनि सकुशल उद्धार गरिएको सशस्त्र प्रहरी बल नं. ७ वैद्यनाथ बाहिनीले जनाएको छ।

उद्धार कार्यमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीसँगै नेपाल प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीको समेत सहयोग रहेको बताइएको छ।

मनसुन सुरु भएसँगै पहाडी क्षेत्रमा हुने वर्षाका कारण तराईका नदी तथा खोलामा अचानक बाढी आउन सक्ने जोखिम रहेकाले सर्वसाधारणलाई सतर्क रहन सशस्त्र प्रहरी बलले आग्रह गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...