

कैलाली- कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा एक व्यक्तिको हत्या घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


स्रोतका अनुसार ती मध्ये एक जनाले आफूले नै हत्या गरेको स्वीकार्दै दिएको बयानले घटना थप चासोको विषय बनेको छ । प्रहरीका अनुसार मृतक ३५ वर्षीय जगदीश कैनी डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी बासिन्दा हुन् ।




उनी केही वर्षदेखि अत्तरियामा सडक पेटीमा जीवन बिताउँदै आएका थिए । मृतक कैनी प्रायः अत्तरियाकै दुर्गा मन्दिर परिसरमा राति बस्ने गरेका थिए । घटनाको राति दुर्गा मन्दिरमै सुतिरहेका बेला टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ । हत्या पश्चात शव मन्दिरको पछाडि तर्फ घिसारिएको थियो ।
प्रहरीले घटनामा संलग्न आशंकामा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको विवरण आधिकारीक रुपमा प्रहरीले सार्वजनिक गरेको छैन । जसमा दुई पुरुष र एक महिला छन् । पक्राउ परेकामध्ये एक पुरुष र महिला पूर्व माओवादी लडाकु भएको खुलेको छ । उनीहरू आफूलाई श्रीमान–श्रीमतीको रूपमा चिनाउने गरेको बताइएको छ ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेका एक पुरुषले हत्या आफैंले गरेको स्वीकार्दै भनेका छन्, “कैनीले मेरी श्रीमतीलाई जिस्क्याउने, मलाई अपांग देखेर होच्याउने र पैसा समेत चोर्ने गर्थे । त्यसैले रिसले ढुंगा हानेर हत्या गरेको हुँ ।” तर, मृतक पनि शारीरिक रूपमा अपांग भएको र हत्या गर्ने भनिएका व्यक्तिको क्षमताको आधारमा एक्लैले यस्तो निर्मम हत्या गर्न सक्ने सम्भावना न्यून देखिएको प्रहरीले जनाएको छ ।
त्यसैले घटनाको थप अनुसन्धान भइरहेको छ । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको ढुंगा र आरोपीका लुगामा रगत लागेको प्रमाण समेत संकलन गरेको छ । अनुसन्धान जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती, प्रदेश प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरको टोलीबाट संयुक्त रूपमा अघि बढाइएको छ ।

